काठमाण्डौ । चीनले आफ्ना नागरिकमाथि कुन हदसम्म निगरानी बढाएको छ भन्ने कुराको झलक विश्व महामारी कोरोनाभाइरसको यो संकटको घडीमा स्पष्ट देख्न सकिन्छ।

रोयटर्सको एउटा रिपोर्टका अनुसार निगरानी स्टेसनहरुलाई ‘महामारी वार’ का रुपमा पेस गरिएका छन्। मानिसहरु कहाँ गइरहेका छन् र को–कोसँग भेटघाट गरिरहेका छन्, चिनियाँ सरकारले निगरानी राखिरहेको छ।

चीनले अहिले विश्वकै सबैभन्दा उन्नत र जटिल निगरानी प्रणाली विकसित गरिरहेको छ। जसका लागि दसौँ लाख क्यामेरा सार्वजनिक स्थानमा जडान गरिएका छन्। 

सरकारी अधिकारीहरु, सरकारी मिडिाहरु र स्थानीयका अनुसार सरकारले लोकसन डाटा र आईडीसँग जोडिएका एपका माध्यमबाट बाहिरबाट आएका मानिसमाथि पनि नजर राखिरहेको छ भने त्यस्ता मानिसहरुलाई क्वारेन्टाइनमा पठाइरहेको छ। यसका साथै क्यामेराको सर्भिलेन्स सिस्टमले पनि संदिग्धको पहिचानमा महत्वपूर्ण भूमिका निभाइरहेको छ। यसबाट संक्रमित मानिसको सम्पर्कमा आएका मानिसको पहिचान गर्न पनि चिनियाँ सरकारलाई सहजता भइरहेको छ।

चिनियाँ सरकारले प्रतिबन्धहरु उल्लंघन गरिरहेका व्यवसाय, प्रतिष्ठान तथा मानिसको पहिचान गरी आवश्यकताअनुसार कानुनी कारबाही अगाडि बढाइरहेको छ। 

रोयटर्सले मानिसमाथि निगरानीमा सहभागी चिनियाँ एक अधिकारीको भनाइ उद्धृत गर्दै भनेको छ, ‘यो युद्धजस्तो स्थिति हो, हामी युद्धका बेलामा जे सोचेर अगाडि बढ्छौँ, त्यसरी नै अहिले अगाडि बढिरहेका छौँ।’

चीनको निगरानी प्रणाली भलै हाई टेकको रहेको छ तर यसमा भिडियो फुटेज हेर्नका लागि ठूलो संख्यामा जनशक्ति आवश्यक पर्छ। भिडियो फुटेज हेर्ने यस्ता जनशक्तिलाई ग्रिड मेम्बर भनिन्छ। उनीहरु क्यामेरा नेटवर्कबाट प्राप्त तस्बिरहरु लगातार हेरिरहेका हुन्छन्। – एजेन्सी