काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट विश्वभर सोमबार बिहानसम्म ६९ हजार ३५० जनाको ज्यान गएको छ। संक्रमितको संख्या १२ लाख ७२ हजारभन्दा बढी पुगेको छ। तीमध्ये २ लाख ६० हजारभन्दा बढी बिरामी उपचारपछि निको भएर घर पनि फर्किएका छन्।

विगत दुई साताको अवधिमा पहिलोपटक इटालीमा यो संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा कमी आएको छ। बितेको २४ घन्टाको अवधिमा इटालीमा ५२५ जनाको ज्यान गएको छ। योसँगे इटालीमा १५ हजार ८८७ जनाको ज्यान गएको छ। 
 

यसैगरी स्पेनमा पछिल्लो २४ घन्टाको अवधिमा ६७४ जनाको ज्यान गएको छ। यो पनि गत एक सातादेखि दैनिकजसो ज्यान गुमाउनेको संख्याको तुलनामा कम हो। स्पेनमा हालसम्म १२ हजार ६४१ जनाको ज्यान गइसकेको छ। स्पेनमा १ लाख ३१ हजारभन्दा बढी संक्रमित भएका छन्।
 

अमेरिकामा कोरोनाको संक्रमण दैनिकजसो बढ्दै गइरहेको छ। अमेरिकामा सोमबार बिहानसम्म ३ लाख ३५ हजार यो भाइरसबाट संक्रमित भइसकेका छन्। त्यहाँ संक्रमणको ज्यान गुमाउनेको संख्या पनि ९ हजार ५६२ पुगेको छ।
 

यो भाइरसको केन्द्रविन्दुअहिले अमेरिकाको न्युयोर्क सिटी बनेको छ। न्युयोर्कमा मात्रै सोमबार बिहानसम्म २ हजार २५६ जनाको ज्यान गइसकेको छ। 
 

फ्रान्समा पनि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ८ हजार नाघेको छ। बितेको २४ घन्टामा फ्रान्समा ३५७ जनाको ज्यान गएको छ। अहिलेसम्म त्यहाँ ९० हजारभन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भइसकेका छन्। 
 

उता ब्रिटेनमा पछिल्लो २४ घन्टाको अवधिमा ६२१ जनाको ज्यान गएसँगै मृतकको संख्या ४ हजार ९३४ पुगेको छ। ब्रिटेनमा हालसम्म ४८ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।

छिमेकी मुलुक भारतमा पनि कोरानाबाट ज्यान गुमाउनेको संख्या हालसम्म ८३ पुगेको छ। बितेको २४ घन्टामा भारतमा ५०५ जना थप संक्रमित फेला परेका छन्। हालसम्म भारतमा ३ हजार ५७७ जना संक्रमित भइसकेका छन्। – एजेन्सी