काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिका कारण नेपालमा होटल क्षेत्रको आम्दानी सन् २०२० मा ९० प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ।

होटल एसोसिएसन अफ नेपाल (हान) ले हालको विश्वव्यापी संकटले सन् २०१९ को तुलनामा सन् २०२० मा होटलको कुल आयमा करिब ९० प्रतिशतले ह्रास आउने प्रक्षेपण गरेको हो। कोरोना संकट र लकडाउनका कारण निर्वाध रुपमा सञ्चालनमा रहेका होटलहरुको सेवा पूर्ण रुपमा बन्द रहेको हानले उल्लेख गरेको छ। 

हानद्वारा जारी विज्ञप्तिमा होटल क्षेत्रलाई संरक्षण गर्न नसकिए डेढ दशकअघि (सन् २००४⁄०५) को जर्जर अवस्थाको पुनरावृत्ति हुने संकेत देखिएको जनाइएको छ। त्यतिखेर दुई वर्षको अवधिमा होटलहरूको कुल आम्दानीमा करिब ५० प्रतिशतले ह्रास आएको र अहिलेको अवस्थाले झन् नाजुक बनाएको हानले स्पष्ट पारेको छ। 

सामान्यतः पुराना स्थापित होटलहरूको अधिकतम व्ययभार श्रमिक व्यवस्थापनमा, नयाँ होटलहरूको ऋण व्यवस्थापनमा र पर्यटकीयस्तरका साना होटलहरूको अत्यधिक खर्च घरभाडालगायत शीर्षकमा हुने हुँदा यो परिस्थितिमा खर्च व्यवस्थापनको सिद्धान्त अवलम्वन गर्दै होटल उद्योगको संरक्षण गर्न अति आवश्यक रहेको विज्ञप्तिमा औंल्याइएको छ। 

होटल उद्योगले नेपालको पर्यटनको विकासमा अतुलनीय योगदान गर्दै मुलुकको अन्तर्राष्ट्रिय पहिचान र गरिमा अभिवृद्धिमा खेलेको केन्द्रीय भूमिका उदाहरणीय रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘अर्बौं रुपैयाँको लागानीमार्फत होटल उद्योगले लाखौंको संख्यामा रोजगारी सिर्जना गरेको तथ्यलाई केन्द्रमा राखी यसले नेपाली अर्थतन्त्र तथा बहुआयामिक क्षेत्रमा निम्त्याउन सक्ने प्रभावको विश्लेषण गर्न विलम्ब नगर्न आग्रह गर्दछौँ।’ 

यो महामारी नियन्त्रणका लागि नेपाल सरकारले चालेका कदमप्रति हानले नेपालले ऐक्यबद्धता जनाउँदै यो विषम् परिस्थितिमा होटल उद्योगको संरक्षण गर्ने विशेष नीति तत्काल अख्तियार गर्न सरकारलाई आग्रह गरेको छ।