काठमाण्डौ । छोटो समयमै राम्रो रेसपोन्स आएको कोरोना बिमामा नियामक बिमा समितिले कडाई गर्न निर्देशन दिएको छ । 

देशका सबै निर्जीवन बिमा कम्पनीहरुमार्फत कोरोना बिमा हुँदै आएको छ । बैशाख ७ गतेदेखि सुरु भएको कोरोना बिमा अन्तर्गत ५० हजार रुपैयाँ र १ लाख रुपैयाँ गरी दुईखालको बिमालेख खरीद गर्न सकिने सुविधा उपलब्ध छ । 

छोटो समयमै यो बिमालेखमा १ लाख ६० हजार हाराहारीको आबद्धता भएपछि र यो संख्या अझै बढी जोखिम समेत बढ्ने देखिएपछि बिमा समितिले कडाई गरेको हो । 

खासगरी पछिल्लो समय भारतबाट र अवस्था केही सहज भएपछि अन्य देशबाट समेत नेपालीहरु स्वदेश फर्किने लहर चल्ने विश्लेषणसहित बिमा समितिले त्यस्ता व्यक्तिहरुको समेत यस्तो बिमालेखमा सहभागिताको सुनिश्चितताका लागि विशेष खालको अण्डरराइटिङ निर्देशन जारी गरेको हो । 

कुनै पनि व्यक्ति भारत लगायत अन्य विदेशी मुलुकबाट नेपाल आई क्वारेन्टाइनमा १५ दिन बसेपछि आफ्नो परिवारमा समावेश भएको १५ दिनपछि मात्र यो बिमालेख खरीद गर्नसक्ने गरी व्यवस्था गर्न समितिले निर्देशन दिएको छ । यसअघि यस्तो बिमालेख खरीद गरेको १५ दिनपछिदेखि नै पीसीआर रिपोर्ट पोजिटिभ आए बिमांक रकम तत्काल भुक्तानी पाउने व्यवस्था थियो । 

यस्तै, विदेशबाट नेपाल फर्किएको नेपाली नागरिक र निजको परिवारले अनिवार्य आरडिटी परीक्षण गराई सोको नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेश गर्नुपर्ने, क्वारेन्टाइनमा १५ दिन बसेको विषय स्थानीय तहले प्रमाणित गर्नुपर्ने, आरडिटी रिपोर्ट पनि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत निकायहरुबाट प्रमाणित भएको हुनुपर्ने शर्तहरु समेत तोकिएका छन् । 

यसैगरी, अण्डरराइटिङ कार्यका लागि संलग्न पूरक फारम सबै निर्जीवन बिमा कम्पनीहरुले आफ्नो वेबसाइटमा राख्नुपर्ने, साथै उक्त फारम भरी स्वीकृत भएपछि मात्र बिमालेख जारी हुने गरी आफ्नो विद्युतीय बिक्री प्रक्रियामा अनिवार्य रुपमा थप व्यवस्था गर्नुपर्ने समेत समितिले निर्देशन दिएको छ ।