काठमाण्डौ । कोभिड १९ को संक्रमण भएका दुई व्यक्तिको ज्यान गुमाएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डोल्पाका एक ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिलाको मृत्यु कोभिड १९ का कारण भएको होे । 

डोल्पाको जगदुल्लाका ५८ वर्षीय पुरुषको जेठ २१ गते बिहानको राति २ बजेतिर मृत्यु भएको हो । उनी केही दिनअघि भारतबाट आएका थिए ।

सुर्खेतमा केही दिन बसी त्यहाँबाट जेठ १६ गते डोल्पा गई स्थानीय स्तरमा बनेको क्वारेन्टिनमा बसेका थिए । सो क्रममा अचानक बिरामी भई २१ गते राति २ बजे मृत्यु भएको हो । 

उनी दमका रोगी रहेका समेत मन्त्रालयले जनाएको छ । मृत्युपछि उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजिटिभ आएको हो । 

कोरोना संक्रमितको मृत्यु भएपछि डोल्पामा सो स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेष टोली जाने तयारी भइरहेको बताइएको छ । 

यसैबीच, डायलासिसको क्रममा शुक्रबार दिउँसो मृत्यु भएकी धनगढी ४ की एक ५५ वर्षीया महिलामा समेत कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको थियो । 

ती महिला मृगौला रोगी थिइन् र नियमित डायलासिस गराइरहेकी थिइन् । शुक्रबार दिउँसो १२ बजे सेती प्रादेशिक अस्पतालमा डायलासिस गराउने क्रममै उनको मृत्यु भएको डा. देवकोटाले जानकारी दिए । 

यसरी शनिवारसम्म कोभिड १९ का कारण मृत्यु हुनेहरुको संख्या १३ पुगेको छ ।