काठमाण्डौ । कोरोना संकटबीच चीनको इनर मंगोलिया स्वायत्त क्षेत्रको एउटा सहरमा बुबोनिक प्लेगको एउटा मामिला अगाडि आएपछि अधिकारीहरुले सतर्कर्ता बढाएका छन्।

अधिकारीहरुका अनुसार बायानुर सहरमा एक गोठालामा बुबोनिक प्लेगको संक्रमण देखिएको हो। ती गोठालालाई अहिले क्वारेनटाइनमा राखिएको छ। उनको अवस्था स्थिर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्। 

बुबोनिक प्लेग देखिएपछि उक्त सहरमा अधिकारीहरुले लेभल ३ को वार्निङ जारी गरेका छन्। चार स्तरको वार्निङ सिस्टममा यो दोस्रो सबैभन्दा कम खतरनाक वार्निङ हो। 

लेभल ३ वार्निङका क्रममा त्यस्ता जनावरको सिकार र मासु खान प्रतिबन्ध हुन्छ जसबाट प्लेग फैलिने सम्भावना हुन्छ। यसका साथै मानिसहरुलाई संदिग्ध बिरामीका विषयमा बेलैमा स्थानीय स्वास्थ्यसंस्था वा प्रशासनमा जानकारी दिन उर्दी जारी गरिन्छ। 

यो प्लेग ब्याक्टेरियाको इन्फेक्सनबाट हुन्छ। यो खतरनाक हुन सक्छ तर आमरुपमा एन्टीबायोटिक औषधिबाट यसको उपचार सम्भव छ। 

यो मामिलासम्बन्धी पहिलो जानकारी बायानुर सहरस्थित एक अस्पतालबाट आएको थियो। ती बिरामीलाई प्लेगको संक्रमण कसरी भयो भन्ने विषयमा स्पष्ट भइसकेको छैन। 

सन् २०१७ मा म्याडाग्याकरमा प्लेगबाट ३०० जना संक्रमित भएका थिए। गत वर्ष मेमा पनि मंगोलियामा म्यारमोट नामक जनावरको मासु खाँदा दुईजनामा प्लेग देखिएको थियो। ती दुवैको मृत्यु भएको थियो। 

मंगोलियामा म्यारमोट जनावरको काँचो मासु र मिर्गौला स्वास्थ्यका लागि लाभदायक हुने भन्दै खाने गरिन्छ। जब यो जनावर प्लेगको ब्याक्टेरिया वाहक हुन्छ। यसको सिकार पनि गैरकानुनी मानिन्छ।

बुबोनिक प्लेगलाई ‘ब्ल्याक डेथ’ पनि भनिन्छ। यसबाट १४ औँ शताब्दीमा एसिया, अफ्रिका र युरोपमा करिब ५ करोड मानिसको ज्यान गएको थियो।

त्यस्तै उन्नाइसौँ शताब्दीमा चीन र भारतमा देखिएको प्लेगको महामारीले १ करोड २० लाख मानिसको ज्यान लिएको थियो। 

स्ट्यानफोर्ट हेल्थ केयरकी डा शान्त क्यापागोडाका अनुसार अहिले यो संक्रमण कसरी फैलिन्छ भन्ने जानकारी रहेको हुँदा आत्तिनुपर्ने अवस्था छैन। ‘हामी यसबाट पीडित बिरामीको एन्टीबडीबाट उपचार गर्न सक्छौँ’, उनले भनिन्। – एजेन्सी