काठमाण्डौ । कोरोनाभाइरस महामारीका कारण विश्व अर्थतन्त्रमा मन्दी आएको छ। करोडौँ मानिसको रोजगार संकटमा परेको छ। त्यहीँ सुनको भाउ भने आकासिएको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपालमा गत चैत ११ गतेदेखि लकडाउन लगाइएको छ। केही सातायता लकडाउन केही खुकुलो पारिए पनि अर्थव्यवस्था प्रतिकूल नै छ। 

लकडाउनकै कारण चैत ११ गतेदेखि बन्द रहेको सुन कारोबार ७५ दिनपछि गत जेठ २५ गतेदेखि खुल्यो। उक्त दिन तोलामै १० हजार ४०० रुपैयाँले बढ्दै ८७ हजार ४०० रुपैयाँ कायम भयो। 

आज सोमबार सुनको भाउ तोलाकै ९० हजार २०० रुपैयाँ रहेको छ। यो हिसाबले कारोबार खुलेको १ महिनाभित्रै नेपाली बजारमा सुनको भाउ १२ हजार ८०० रुपैयाँ बढिरहेको छ। 

एकातिर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायतका एजेन्सीहरुले नेपालको आर्थिक वृद्धि दर यो २ प्रतिशतभन्दा मुनि हुने बताइरहेकै बेला अर्कोतिर सुनको भाउको पारो तातिरहेको छ। नेपालमात्र होइन आईएमफएले विश्वको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा संकुचन हुने अनुमान लगाएका छन्। 

विज्ञहरुका अनुसार सुनको भाउ अझै बढ्न सक्छ। उनीहरुका अनुसार यतिबेला अन्य व्यापारव्यवसाय ठप्प रहेकाले लगानीकर्ताहरु नाफा आर्जन गर्न सुनमा पैसा खनाइरहेका छन्। 

हालत जब सामान्य रहन्छ तब स्टक मार्केट, बन्डलगायतबाट लाभ लिन सकिन्छ। तर जब विश्व अर्थतन्त्र नै अनिश्चितताको स्थितिमा छ भने मानिसहरु सुरक्षित लगानीका रुपमा सुनमा पैसा लगाइरहेका छन्। यही कारण विश्वभर सुनको माग बढेको र माग बढेसँगै भाउ पनि आकासिएको छ।

त्यसो त अमेरिका र चीनबीच चलेको व्यापार युद्धका क्रममा पनि सुनको भाउ बढेको थियो। अहिले कोरोनाभाइरसले सुनको भाउलाई झनै उचाइमा पुर्याएको छ। 

आमलगानीकर्ताका अलावा विश्वका केन्द्रीय बैंकहरुले पनि सुनको खरिददारी बढाएका छन्। जसमा युरोपियन सेन्ट्रल बैंक, पिपल्स बैंक अफ चाइना, फेडरल रिजर्भजस्ता बैंक समावेश छन्।

आउँदो ५–६ महिनामा सुनको भाउ थप उचाइमा पुग्ने अर्थविद्हरुको अनुमान छ। 

कोरोनाले अर्थव्यवस्था धर्मराएको अवस्थामा सरकारले नीति बनाएर सुनको प्रयोग गर्न सक्ने र यसको आम्दानी अर्थव्यवस्थामा टेवा पुग्ने विश्लेषकहरु बताउँछन्। उदाहरणका लागि यदि तपाइँसँग एक किलो सुन छ भने लगभग यसको मूल्य ७७ लाख रुपैयाँ पर्न आउँछ। यदि यसलाई धितो राखी बैंकबाट ८० प्रतिशत पैसा पाइन्छ भने त्यो पैसा अन्य क्षेत्रमा लगाउन सकिन्छ। यो हिसाबले राष्ट्र र जनता दुवै सुनको अधिकतम प्रयोग गरी आम्दानी गर्न सक्छन्। 

अहिले थन्किएका सुनको प्रयोग गरेर आर्थिक गतिविधिमा तीव्रता दिनुपर्ने बेला रहेको अर्थविद्हरु बताउँछन्।