काठमाण्डौ । नेपालमा कोरोना भाइरसको संक्रमण दर घट्न थालेको छ । योसँगै नयाँ संक्रमित पहिचान हुने क्रम घटेसँगै पछिल्लो २४ घण्टामा संक्रमणलाई जितेर घर फर्किनेको संख्या धेरै देखिएको छ । 

पछिल्लो २४ घण्टामा देशभर १०८ नयाँ संक्रमित फेला परेका छन् । तर, यही अवधिमा १३९ संक्रमित निको भएर घर फर्किएका छन् । 

संभवत हालसम्म यो नै पहिलो घटना हो, जहाँ संक्रमितको थप संख्या भन्दा डिस्चार्ज हुनेको संख्या बढी देखिएको छ । यसले निको हुने बढिरहेका र थप संक्रमित घटिरहेका देखिन्छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार थपिएको संख्यासहित नेपालमा संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । हालसम्म निको हुनेको संख्या ७ हजार ८९१ पुगेको छ ।

पछिल्लो पटक थपिएका संक्रमितमध्ये ५ जना काठमाण्डौका पनि छन् । 

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी सुर्खेतका १८ र बझाङका १६ जना छन् ।