काठमाण्डौ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । 

काठमाण्डौका २ र सिन्धुपाल्चोकका १ गरी थप ३ पुरुषको संक्रमणका कारण समेत मृत्यु भएको हो । उनीहरु तिनैजना विभिन्न खालका दीर्घरोगी समेत रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डौको शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते र गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षीय पुरुषको २५ गते मृत्यु भएको हो ।

शंखमूलका ती पुरुषको फोक्सोमा पानी जमेको थियो । मृगौला रोगबाट समेत पीडित उनलाई उपचारका लागि असार १६ गते पाटन अस्पताल भर्ना गरिएको थियो । ती पुरुषको असार १७ गते स्वाब परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । 

काठमाण्डौकै गोकर्णेश्वर नगरपालिकाका पुरुषमा पनि मृगौलाको समस्या थियो । उनी मृगौलाका दीर्घरोगी समेत थिए । श्वास फेर्न गाह्रो भएपछि स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो । ती पुरुषको समेत स्वाब परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । 

यसैगरी सिन्धुपाल्चोक पाँचपोखरी ६ का अर्का ४५ वर्षीय १ संक्रमित पुरुषको असार २५ गते मृत्यु भएको थियो । ती पुरुष क्षयरोगका बिरामी थिए । उपचारका लागि असार १८ गते पाटन अस्पताल भर्ना भएका उनको २२ असारमा स्वाब परीक्षण गर्दा पोजिटिभ नतिजा आएको थियो । 

थप ३ मृत्युसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ पुगेको छ । 

संक्रमण दर ह्वात्तै घट्यो
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर तीव्र रुपमा घटिरहेको छ । पछिल्लो २४ घण्टामा ७० जनामा मात्रै संक्रमण पहिचान भएको हो । थपिएका ७० संक्रमितमध्ये काठमाण्डौका ३ जना रहेका छन् । 

थप संख्यासहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ७१९ पुगेको छ । 

आधा संक्रमित निको भए
यसैबीच, शनिवारसम्ममा नेपालका ५० प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमित भएकाहरुमध्ये ५० दशमलव ५ प्रतिशत निको भएर घर फर्किएका हुन् । 

पछिल्लो २४ घण्टामा ४३१ संक्रमित निको भएर घर फर्किएका छन् । योसहित निको भएर फर्किने कुल संक्रमितको संख्या ८ हजार ४४२ पुगेको छ । 
यसरी हाल नेपालमा कोरोना संक्रमणका ८ हजार २३९ मात्र एक्टिभ केस रहेका छन् ।