काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संकटका बाबजुद फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा बढाउन सफल भएको छ। 

संस्थाले अघिल्लो वर्ष सोही अवधिको तुलनामा ५.४७ प्रतिशत खुद नाफा बढाउन सफल भएको हो। संस्थाको आइतबार सार्वजनिक चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १३ करोड ९७ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्ष १३ करोड २४ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको खुद ब्याज आम्दानी पनि अघिल्लो आर्थिक वर्षको तुलनामा १ करोड १७ लाख रुपैयाँले वृद्धि भएर २२ करोड ४१ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो आर्थिक वर्षमा २१ करोड २४ लाख रुपैयाँ थियो। 

संस्थाको सञ्चालन मुनाफा २१ करोड ७९ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो आवको सोही अवधिमा २० करोड ९९ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिमा संस्थाले ५ अर्ब २३ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ५५ करोड रुपैयाँ बढी ऋण प्रवाह गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा संस्थाले ५ अर्ब १४ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ५० करोड रुपैयाँ ऋण प्रवाह गरेको छ। 

संस्थाको समीक्षा अवधिमा चुक्ता पुँजी ८० करोड ७ लाख रुपैयाँ रहेको छ। 

अघिल्लो आर्थिक वर्षको तुलनामा संस्थाले जगेडा तथा सञ्चित कोषमा १२९.१४  प्रतिशतको छलाङ मारेको छ। अघिल्लो वर्ष १० करोड ८१ लाख रुपैयाँमा सीमित यस्तो कोषको आकार बढेर समीक्षा अवधिमा २४ करोड ७९ लाख रुपैयाँ पुगेको हो। 

समीक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १७.४५ रुपैयाँ रहेको छ। संस्थाको पीई रेसियो ३१.८१ गुणा रहेको छ।