काठमाण्डौ । देशभर फेरि कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेको छ । योसँगै यदि कोरोना लागिहाले त्यसबाट उत्पन्न आर्थिक दायीत्व कसरी पूरा गर्ने ? कोरोना लागिहालेमा इम्युनिटी पावर बढाउनका लागि आवश्यक कतिपय पौष्टिक आहार खरीद कुन पैसाले गर्ने ? अन्य अत्यावश्यक आर्थिक व्यवस्थापन कसरी मिलाउने ? यी सबै कुराका लागि राम्रो विकल्प हुनसक्छ कोरोना बिमा । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न सरकारले कोरोना बिमा नामको बिमा पोलिसी कार्यान्वयनमा ल्याएको धेरै समय भइसकेको छ । अर्थमन्त्रालयको निर्देशन तथा सहमतिमा बिमा समितिले कोरोना बिमा सम्बन्धी मापदण्ड बनाई लागू गरेको छ । हाल देशका २० वटा निर्जीवन बिमा कम्पनीले कोरोना बिमाको काम गर्ने गरेका छन् । 

के हो कोरोना बिमालेख ? 
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट उत्पन्न हुनसक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न बीमा समितिबाट इजाजतपत्र प्राप्त नेपालका २० वटा निर्जीवन बीमा कम्पनीहरुमार्फत बिक्री भइरहेको बीमा पोलिसी हो कोरोना बीमा । 

कोरोना बीमाको बीमाङ्क रकम रु १ लाख र रु ५० हजार गरी दुई प्रकारको कायम गरिएको छ । रु १ लाख बीमाङ्क कायम भएको बीमालेखका लागि प्रतिव्यक्ति रु १ हजार र रु ५० हजारको बीमाङ्कका लागि प्रतिव्यक्ति रु ५०० बीमाशुल्क कायम गरिएको छ । यदि सगोलमा बसेको परिवारका सम्पूर्ण सदस्यहरुको सामूहिक बीमा गरिएको खण्डमा रु १ लाखको बीमाङ्कका लागि प्रतिव्यक्ति रु ६०० रु ५० हजारको बीमाङ्कका लागि प्रतिव्यक्ति रु ३०० बीमाशुल्क कायम गरिएको छ । 

बीमालेख खरिद गर्नका लागि आवश्यक न्यूनतम सर्तहरु यसप्रकार छन्:
–नेपाली लागरिक हुनुपर्ने ।
– कुनै नेपाली नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात ।  
–सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्यहरु उल्लेख गरिएको
– स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात  
–एकल वा सामूहिक कोरोना बीमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात ।

त्यस्तै, कोरोना बीमा दावि भुक्तानीका लागि कोरोना बीमालेख खरिद गरेको १५ दिन पश्चात् र नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको रकम भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । 

सो कार्यका लागि बीमा कम्पनीले दाबीको निवेदन प्राप्त गरेको ७ दिन भित्र बीमितलाई दाबी भुक्तानी गर्नुपर्नेछ । यदि दाबी भुक्तानी नहुदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्नु पर्नेछ ।

राष्ट्रसेवक कर्मचारीहरुको हकमा भने सामूहिक कोरोना बीमा गर्दा नेपाल सरकारले शत प्रतिशत अनुदान उपलब्ध गराउने जनाएको छ । 

नेपाल सरकारको चालु आर्थिक बर्षको बजेट बक्तव्यअनुसार आम नागरिकले गर्ने सामूहिक कोरोना बीमामा मात्र ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ । सामूहिक कोरोना बीमाका लागि अनुदान प्राप्त गर्न बीमकले समितिबाट जारी गरिएको कोरोना बीमा मापदण्ड, २०७७ मा तोकिए बमोजिमका जोखिमाङ्कन व्यवस्था सम्बन्धी कागजातहरु, एकाघर परिवारका सम्पूर्ण सदस्यहरुकोसामूहिक बीमा गरिएको स्वघोषण एवं सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात पेश गर्नुपर्नेछ । 

त्यस्तै  एकाघर परिवारका सदस्यहरुको नाम तथा उमेर खुल्ने सम्बन्धित स्थानीय तहले प्रमाणीत गरेको कागजात, कोरोना बीमा गरेको परिवार विगत ३० दिनसम्म नेपालमा नै बसोबास गरेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात समेत पेश गर्नु पर्नेछ ।

यो बीमालेख सुविधा कुनै पनि परिवारले एउटा कम्पनीबाट एकपटकका लागि मात्र पाउनेछ । साथै, बीमालेखको अवधि २०७८ साल असार मसान्तसम्म मात्र लागू हुनेछ । बीमकले सामूहिक बीमा गर्दा उल्लेखित प्रक्रिया र मापदण्ड विपरीत बीमा गरेको पाइएमा त्यस्तो बीमाशुल्क अनुदान स्वरुप उपलब्ध नगराइने बीमा समितिले जनाएको छ । 

त्यस्तो बीमितको कोरोना संक्रमण भएको पाइएमा बीमालेख विक्री गर्ने बीमा कम्पनीको वासलातबाट दाबी भुक्तानी दिन सम्बन्धित बीमकलाई समितिले निर्देशन दिन सक्ने व्यवस्था गरिएको छ ।