काठमाण्डौ । देशका विभिन्न भागमा थप ४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ।

ललितपुरको पाटन अस्पतालमा मंगलबार राति कोरोना संक्रमित ३८ वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। जनकपुरकी ती महिलालाई गत साउन १८ गते पाटन अस्पताल भर्ना गरिएको थियो। उनलाई मेनिन्जाइटिस पनि रहेको चिकित्सकहरुले बताएका छन्। 

यसैगरी ललितपुरकै ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मंगलबार राति मृत्यु भएकी ७८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाण्डौ टेकुकी ती महिलालाई पाटन अस्पतालले गत साउन २६ गते किस्ट अस्पतालमा रिफर गरेको थियो। 

उता सप्तरीमा पनि मंगलबार राति नै एक कोरोना संक्रमित ८० वर्षीय पुरुषको मृत्यु भएको छ। राजविराजको सिरहा रोडनिवासी ती वृद्धलाई मंगलबार नै कोरोना संक्रमण भएको पुष्टि भएको थिया। चार दिनदेखि ज्वरोबाट ग्रस्त उनलाई संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा ल्याउँदै गर्दा एम्बुलेन्समै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

यस्तै रुपन्देहीको बुटवलको कोरोना अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेका दुई पुरूषको मंगलबार राति मृत्यु भएको छ। तीमध्ये एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको रिपोर्ट आउन बाँकी छ।