काठमाण्डौ । नवील बैंक लिमीटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ३ अर्ब ४ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।

यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा केही कम हो । समीक्षा अवधिभन्दा अघिल्लो वर्ष नवील बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७३ करोड रहेको थियो । 

हाल नवील बैंकको चुक्तापूँजी १० अर्ब ९ करोड ७४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म चुक्तापूँजी ९ अर्ब १ करोडमा सीमित थियो । 

यसरी चुक्तापूँजीतर्फ १ अर्ब बढीको वृद्धि हुनु, कोभिड १९ का कारण विजिनेशमा असर पर्न गई वितरणयोग्य मुनाफा केही संकुचित हुनुले नवील बैंकले यसपटक वितरण गर्ने लाभांश केही घट्ने देखिएको छ । तथापि, यो बैंकले यो वर्ष पनि ३० प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ । 

नवील बैंकको आफ्नो रिजर्बको आकारलाई समेत थप मजबुत बनाएको छ । अघिल्लो वर्षको यही अवधिसम्म १० अर्ब ४४ करोड रुपैयाँ रहेको रिजर्बको आकार बढेर यो वर्ष १२ अर्ब ६६ करोडको उचाईमा पुगेको देखिएको छ । 

कोरोना संकटकै बीच नवील बैंकले अन्य सूचकमा पनि उल्लेख्य प्रगति गरेको छ । समीक्षा अवधिमा बैंकले १६ अर्ब ४९ करोड बढी ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १५ अर्ब २४ करोडमा सीमित थियो । 

ब्याज खर्च पनि ९ अर्ब ४७ करोड गरेको देखिन्छ । अघिल्लो वर्ष ब्याज खर्च ८ अर्ब ८ करोड थियो । यसरी नवील बैंकले समीक्षा अवधिमा ७ अर्ब २ करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष ७ अर्ब १५ करोड थियो । 

कम्पनीको संचालन नाफा केही घटेको छ । अघिल्लो वर्ष ६ अर्ब २ करोड रहेको संचालन मुनाफा घटेर यो वर्ष ५ अर्ब ९ करोडमा सीमित बन्न पुगेको हो । 

कोभिड १९ का कारण बढेको खर्च, केही खुम्चिएको विजिनेश र कतिपय नियामकीय व्यवस्थाका कारण उत्पन्न दायीत्वले संचालन खर्चमा गिरावट आएको हो । 

समीक्षा अवधिमा नवील बैंकको खूद नाफा ३ अर्ब ५६ करोड रहेको छ । अघिल्लो वर्ष ४ अर्ब २३ करोड थियो । 

यो अवधिमा बैंकले १ खर्ब ९० अर्ब ८० करोड बढी निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब २३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ खर्ब ६२ अर्ब ९५ करोड निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब ५० करोड बढी कर्जा परिचालन गरेको थियो । कोभिड संकटका बीच पनि बैंकले बढाएको स्रोत र कर्जा परिचालन सन्तोषजनक देखिन्छ । 

अघिल्लो वर्ष ०.७४ प्रतिशतको अनुपातमा रहेको निस्क्रिय कर्जा केही बढी ०.९७ प्रतिशत पुगेको छ भने ६.१३ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर ५.४९ प्रतिशतमा सीमित भएको छ । 

समीक्षा अवधिमा नवील बैंकको सीडी रेसियो ६८.०८ प्रतिशत देखिएको छ । यसले सहज अवस्था नभएका कारण बैंकले परिचालन गर्नसक्ने स्रोतहरु समेत प्रयोगमा ल्याउन नसकेको देखिन्छ । 

वितरणयोग्य मुनाफामा केही संकुचन आएको कारण र चुक्तापूँजीमा बढोत्तरी भएका कारण प्रतिसेयर आम्दानी भने घटेको छ । नवील बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्ष ५०.५७ रुपैयाँबाट घटेर ३७.२४ रुपैयाँ कायम भएको हो ।