काठमाण्डौ । हाम्रो सबैभन्दा नजिकको छिमेकी भारतमा कोरोना संक्रमित थपिने क्रमले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । त्यहाँ दैनिक रुपमै एकलाख हाराहारीमा कोरोना संक्रमित थपिइरहेका छन् । 

नेपालको खुल्ला सीमाना रहेका कारण भारतमा कोरोना संक्रमितको संख्या बढ्दा नेपाललाई पनि प्रभाव पर्छ । तर, भारतमा कोरोना संक्रमित थपिने विषयमा मात्र होइन, संक्रमितहरु निको हुने दरमा पनि रेकर्ड बनेको छ । 

नवभारत टाइम्सका अनुसार भारतले अब संक्रमित निको हुने विषयमा समेत विश्वभरकै हालसम्मको सबै रेकर्ड तोडिदिएको छ। 

त्यहाँको स्वास्थ्य मन्त्रालयले शनिवार भनेको छ कि भारतमा संक्रमित निको हुने मामलामा वैश्विक रेकर्ड बनेको छ र भारतले यो विषयमा अमेरिकालाई पनि पछाडि पारिदिएको छ । 

मन्त्रालयका अनुसार भारतमा हालसम्म ४२ लाख ८ हजार ४३१ कोरोना संक्रमित निको भइसकेका छन् । यो भनेको विश्वका सबै मुलुकमध्ये सबैभन्दा बढी संक्रमित निको भएको संख्या हो । 

भारतमा संक्रमणलाई जितेर निको हुने दर बढेर ८० प्रतिशत पुगेको छ । यस्तै, त्यहाँ मृत्युदर समेत घटेर १.६१ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

मन्त्रालयका अनुसार अब भारतमा विश्वभर संक्रमणमुक्त भएको कुल बिरामीमध्ये १९ प्रतिशत रहेका छन् । 

त्यहाँको सरकारले संभावित संक्रमितहरु पत्ता लगाउन आक्रामक रुपमा संचालन गर्ने टेस्ट, रोगीलाई चाँडो पत्ता लगाउन केन्द्रीत, क्रमबद्ध तथा प्रभावकारी उपाय, प्रभावकारी निगरानी र गुणस्तरीय हेरविचारका कारण विश्वमै यस्तो रेकर्ड बनेको मन्त्रालयले दाबी गरेको छ । 

शनिवार बिहान ८ बजे जारी आँकडा अनुसार पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ९५ हजार ८८० व्यक्ति कोरोनाबाट मुक्त भएका छन् । 

भारतमा निको भएका संक्रमितहरुमध्ये ६० प्रतिशत संक्रमित ५ राज्य महाराष्ट, तमिलनाडू, आन्ध्रप्रदेश, कर्नाटक र उत्तरप्रदेशका रहेका छन् । यिनै ५ राज्यहरुमा संक्रमणका सर्वाधिक संख्या समेत देखिएको छ । महाराष्टमा मात्रै एकदिनमै २२ हजार भन्दा बढी व्यक्ति निको भएका छन् । आन्ध्र प्रदेशमा ११ हजार थप संक्रमित निको भए । 

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा रेमडेसिभिर, प्लाज्मा थेरापी तथा टोसिलीजुम्याब जस्ता अनुसन्धानमा आधारित पद्धतिको तर्कसंगत प्रयोग भइरहेको छ । यी तरिकाले पनि धेरै उपलब्धि हासिल गरेका छन् । 

भारतमा पछिल्लो २४ घण्टामा ९३ हजार ३३७ नयाँ संक्रमित थपिएका छन् । कुल ५३ लाख ८ हजार १४ व्यक्ति संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा भारतमा १२४७ संक्रमितको मृत्यु भएको छ । 

नेपालको अवस्था के छ ?
भारतसँग सीमा जोडिएको नेपालमा समेत निको हुने दर बढिरहेको छ । शनिवारसम्मको तथ्यांक हेर्दा नेपालमा कोरोना संक्रमितको निको हुने दर ७२ प्रतिशतबाट उकालो लाग्न थालेको छ । 

यहाँ पनि दैनिक हिसाबमा संक्रमित थपिने संख्याले नयाँ रेकर्ड बनाइरहँदा डिस्चार्ज हुनेको संख्या समेत बढिरहेको छ । नेपालमा पनि भारतमा झै रेमडेसिभिर औषधिको प्रयोग, प्लाज्मा थेरापी लगायतका विधि समेत अपनाइने गरिएको छ ।