काठमाण्डौ । कोरोना बीमा दाबीभुक्तानीमा झन्झट व्यहोर्नुपरेको गुनासाहरु सुनिन थालेपछि बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले कोरोनाभाइरस बीमाको दाबीभुक्तानी पाउनका लागि आवश्यक कागजपत्रबारे प्रस्ट रुपमा जानकारी गराएको छ। 

संघले बिहीबार सूचना प्रकाशित गर्दै आवश्यक कागजपत्रबारे सर्वसाधारण बीमितहरुलाई जानकारी गराएको हो। संघका अनुसार कोरोना दाबीभुक्तानीका लागि बीमितले बीमालेखको प्रतिलिपिका साथै पूर्ण रुपमा भरिएको दाबी फाराम बुझाउनुपर्नेछ। यसका साथै कोरोना संक्रमण पुष्टि हुने पीसीआर परीक्षणको सक्कल प्रति, होम आइसोलेसनमा बसेको अवस्थामा स्थानीय निकायबाट होम आइसालेसनमा बसेकोबारे प्रमाणित पत्र तथा अस्पतालमा वा आइसोलेसन केन्द्रमा भर्ना भएको अवस्थामा डिस्चार्ज सिट पनि आवश्यक पर्ने संघले जनाएको छ।

यसैगरी कोरोना बीमा दाबीभुक्तानीका लागि संक्रमित बीमितको परिचय खुल्ने आधिकारिक पत्र (नागरिकता प्रतिलिपि र नाबालकको हकमा जन्मदर्ताको प्रतिलिपि) र अस्पताल भर्ना भई उपचार गर्नुपरेको अवस्थामा उपचारका बिलहरु (२०७७ भदौ २८ पछि जारी बीमालेखेको हकमा मात्र) समावेश गर्नुपर्ने संघले स्पष्ट पारेको छ। 

संघले कोरोनाबीमाको दाबीभुक्तानी गर्दा नैतिक जोखिमका सम्भावनालाई ध्यानमा राखेर वास्तविक संक्रमित व्यक्तिले मात्र बीमा दाबीभुक्तानी प्राप्त गरुन् भन्नेतर्फ सचेत हुन आवश्यक रहेको जनाएको छ। कोरोना बीमा कार्यक्रममा नेपाल सरकारको बजेट समेत प्रयोग हुने कारण झुठो दाबीमार्फत नेपाली जनताको करको दुरुपयोग नहोस् भन्नेतर्फ आफूहरु सचेत रहेको संघले प्रस्ट पारेको छ। सोही कारणले आवश्यक प्रतिक्रिया अवलम्बन गर्दा बीमा दाबीभुक्तानीमा केही समय लाग्ने गरेको संघले जनाएको छ। 

गत वैशाख ७ बाट कोरोना बीमालेख जारी हुँदा संक्रमित बीमितले बीमांक रकमबराबर एकमुष्ट ५० हजार रुपैयाँ वा १ लाख रुपैयाँ दाबीभुक्तानी पाइने व्यवस्था थियो। तर पछि परिस्थितिलाई मध्यनजर गर्दै गरिएको परिमार्जनपछि गत भदौ २८ गतेबाट कोरोना संक्रमण भएमा एकमुष्ट २५ हजार रुपैयाँ र अस्पताल भर्ना भई उपचार गर्नुपरेमा उपचारखर्चबापत ७५ हजार रुपैयाँसम्म पाइने गरी बीमालेखमा संशोधन गरिएको छ।