काठमाण्डौ । देशको बिमा कम्पनीहरुको नियामक बिमा समितिले  सरकारद्वारा कोरोना रोकथामका लागि स्थापित कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । 

बिमा समितिको सोमबार साँझ बसेको संचालक समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । 

अध्यक्ष चिरञ्जिवी चापागाईका अनुसार बैठकले कोरोना रोकथामका लागि सरकारलाई २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । 

सरकारले कोरोना रोकथामका लागि कोष स्थापना गरी सबै क्षेत्रबाट सहयोगको आह्वान गरेसँगै नेपालका बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र, प्रतिष्ठान लगायतबाट सहयोग गर्ने क्रम बढिरहेको छ । 

कोषमा हालसम्म पूर्ण सरकारी स्वामित्वको राष्टिय वाणिज्य बैंकले १ करोड ५० लाख, नेपाल बैंकले १ करोड, कृषि विकास बैंकले १ करोड २५ लाख, ग्लोबल आइएमई बैंकले १ करोड १५ लाख सहयोग गर्ने घोषणा गरिसकेका छन् । 

सोमबार नै उद्योगपति बसन्त चौधरीले १ करोड सहयोग गर्ने घोषणा गरेका थिए । आइतबार साँझ एनआरएनएले १ करोड सहयोगको घोषणा गरेको थियो भने अन्य क्षेत्रबाट समेत कोषमा सहयोग आउने क्रम जारी रहेको छ ।