काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले सरकारले स्थापना गरेको कोभिड १९ सहयोग कोषमा आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । 

उनले सहयोग कोषमा आफ्नो एक महिनाको तलब बराबरले हुन आउने ५ लाख ५१ हजार ४१३ रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेका हुन् । 

हालसम्म बैंकहरुले संस्थागत रुपमा कोषमा सहयोग गरे पनि कुनै पनि बैंकरले यसरी व्यक्तिगत रुपमा कोषलाई सहयोग गरेका थिएनन् । 

देशका बैंकहरुका कुनै पनि सीइओ वा उच्च व्यवस्थापनका कुनै पनि अधिकारीले समेत हालसम्म सरकारी कोषलाई व्यक्तिगत रुपमा पन्तले जसरी सहयोग गरेका थिएनन् । 

पन्तले सहयोग राशिको घोषणासँगै बैंकहरुको सामाजिक उत्तरदायीत्व कोषमा थुप्रिएको रकम कोरोना संक्रमणको रोकथाम कार्यका लागि खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव समेत दिएका छन् । त्यस्तो कोषमा रहेको रकम कोभिड भाइरस जाँच क्षमता बढाउन, मेडिकल तथा हस्पिटल सपोर्ट, पीपीई खरीद तथा भेन्टिलेटरहरुको पर्याप्त व्यवस्थापनका लागि समेत खर्च गर्न सकिने उनको धारणा छ ।

उनले दैनिक ज्यालादारी गर्ने मजदूरहरुमा लकडाउनका कारण भोकमरी सुरु हुनसक्ने चिन्ता व्यक्त गर्दै उनीहरुका लागि समेत सबै पक्षले सोच्न आवश्यक रहेको बताएका छन् ।  

उनको यो सहयोग घोषणापछि अन्य बैंकका सीइओ तथा उच्च व्यवस्थापनका कर्मचारीहरुमा समेत सहयोगका लागि नैतिक दवाब पर्नसक्ने आँकलन गरिएको छ ।