काठमाण्डौ । थाइल्याण्डका विवादित राजा महा वाजिरालोङकर्न उर्फ राम दशम कोरोना संकटबाट गुज्रिरहेका जनतालाई छाडेर जर्मनी गएका छन् । 

राजा महाले जर्मनीको एक आलिसान होटललाई आफ्नो बासस्थान बनाएका छन् । मिडियाहरुमा बाहिरिएको खबर अनुसार उनी कोरोनाबाट बच्न र यस्तो बेलामा समेत मोजमस्तीमा मस्त हुन जनतालाई छाडेर जर्मनी भागेका हुन् । 

होटलभित्र रहेको उनको मिनी राज्यमा उनैले साथै लगेका २० महिला समेत रहेका मिडिया रिपोर्टमा दाबी गरिएको छ । 

योसँगै राजा महाले आफूसँगै ठूलो संख्यामा नोकरचाकरहरुलाई समेत लगेका छन् । 

थाइल्याण्डका यी राजाले कोरोना संकट गहिरिँदै गएपछि आफ्ना सेवकसँगै जर्मनीको अल्पाइन रिसोर्टस्थित एक लग्जरी होटलमा आफूलाई आइसोलेट गरेका समाचारमा बताइएको छ । 

उनले होटल ग्राण्ड सोन्नेबिचलको पूरा बुक गरेका छन् । यति मात्र होइन, उनले यसका लागि त्यहाँको डिस्ट्रिक काउन्सिलबाट विशेष अनुमति समेत लिएका छन् । राजा महा सन् २०१६ मा उनका पिताको निधनपछिदेखि थाइल्याण्डको राजगद्धीमा छन् । 

जर्मन पत्रिका बिल्डमा छापिएको रिपोर्टअनुसार जीवनको ६७ औं बसन्त देखिसकेका यी राजासँग उनको त्यो मिनी राज्यमा २० युवती र ठूलो संख्यामा सेवकहरु रहिरहेका छन् ।

कोरोना भाइरसको आतंकपछि राजा बसिरहेको इलाकाका अधिकांश होटल तथा गेस्टहाउस बन्द गर्न भनिएको छ । तर, त्यहाँको डिस्ट्रिक काउन्सिलले राजालाई सिंगल गेस्ट भन्दै र एउटै समूह रहेको कारण दर्शाउँदै बस्ने स्वीकृति दिइएको बताएको छ । 

समाचारमा भनिएको छ कि उनले यसअघि आफूसँगै त्यहाँ पुगेका परिवारका ११९ मानिसलाई संक्रमणको आशंकामा थाइल्याण्ड फिर्ता गरिदिएका छन् । 

यसैबीच, संकटको बेला राजा भागेर जर्मनी गएको खबरले थाइल्याण्डका जनतामा भने आक्रोश पैदा गरिरहेको बताइएको छ । ठूलो संख्यामा मानिसहरु सामाजिक सञ्जालमा राजाको आलोचना गरिरहेका छन् । यो देशमा राजाको आलोचना गर्नेमाथि १५ वर्षसम्मको जेल सजाय हुनसक्ने कानून छ । तर, यसको परवाह नै नगरी सर्वसाधारण उनको आलोचनामा उत्रिएका छन् । त्यहाँका १२ लाखभन्दा बढी मानिसले ‘हामीलाई यस्तो राजा किन चाहियो ?’ भन्दै ट्वीट गरिसकेका छन् । 

राजा महा यस्तो समयमा जनतालाई छाडेर हिँडेका छन्, जुनबेला पूरा देश कोरोना महामारीसँग जुँधिरहेको छ । थाइल्याण्डमा निकै छोटो समयमै १२०० भन्दा बढी कोरोना संक्रमित फेला परिसकेका छन् । 

थाइल्याण्डका यी नट्वरलाल राजाले आफ्नो राजतिलकभन्दा ठीक अघि आफ्नै बडीगार्ड सुथिदा तिदजईसँग विवाह गरेका थिए । उनलाई बौद्ध र ब्राम्हण समारोहका बीच आधिकारिक रुपमा राजाको ताज पहिराउने काम भएको थियो । उनले यसअघि ३ विवाह गरिसकेका छन् र ७ बालबच्चा भइसकेका छन् । उनले आफ्ना तीनै पूर्व पत्नीहरुसँग डिभोर्स पनि गरिसकेका छन् । थाइल्याण्डकी नयाँ रानी सुथिदा राजाको सेक्युरिटी युनिटको कमाण्डर थिइन् । राजासँग उनको लामो समयदेखिको अफेयर थियो ।