काठमाण्डौ । भारतको कोलकाता बन्दरगाहमा हिजोदेखि आफ्नै कन्टेनर फ्रेट स्टेशन(सीएफएस) संचालनमा आएको छ । 

नवनिर्मित सीएफएस शुभारम्भ समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरूको सहभागिता रह्यो । 

सीएफएस, ट्रान्जिट बन्दरगाह नजिक मालबाहक कन्टेनर राख्न र वैधानिक औपचारिकता पूरा भएपछि त्यसलाई अगाडि बढाउन प्रयोग हुने निश्चित ठाउँ हो । सीएफएस निर्माण र संचालनमा नेपाल सरकारबाट भएको महत्वपूर्ण पहल र प्राप्त सफलताका लागि नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकारप्रति धन्यवाद ज्ञापन गरेको छ । 

कोलकाता बन्दरगाहलाई सहज र सुव्यवस्थित बनाई आयात निर्यात व्यापारमा नेपालले तिर्नुपरेका अतिरिक्त शुल्क कम गर्नेतर्फ पहल गर्नुपर्ने आवाज महासंघले उठाइरहेको सन्दर्भमा नेपालको आफ्नै सीएफएस संचालनबाट ठूलो राहत पुग्न जाने विश्वास महासंघको छ । 

आफ्नै सीएफएसबाट नेपाली आयातकर्ताले अब कम खर्चमै कार्गो राख्न सक्ने छन् । उक्त सीएफएसमा करिब ५ सय कन्टेनर राख्न सकिने बुझिएको छ ।

सीएफएसको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बिहीबार एक समारोहका बीच शुभारम्भ गरेका थिए । सो समारोहमा मन्त्रालयका उच्च अधिकारीहरू, कोलकत्तास्थित महावाणिज्य दूत, नेपाली उद्यमी व्यवसायीहरू, कोलकाता पोर्टका उच्च अधिकारीहरूको उपस्थिति थियो । 

सो समारोहमा भाग लिइरहनु भएका महासंघका उपाध्यक्ष प्रधानले नेपालको आफ्नै सीएफएस संचालनबाट ठूलो राहत पुग्ने बताए । कोलकातामा आयातकर्ताले सीएफएस भाडाबापत प्रतिटन÷प्रतिदिन भारतीय रुपैयाँ ४५ देखि ६५ तिर्दै आएकोमा नेपालको सीएफएसमा आधा सस्तो पर्ने भएकाले निकै ठूलो राहात हुने उहांको दाबी छ । यसले एकातिर व्यवसायीको लागत घटाउँछ भने अर्कोतिर त्यसको फाइदा अन्ततोगत्वा नेपाली उपभोक्तामा पर्ने उनले प्रष्ट्याए ।

२०७५ फागुन ३ गतेदेखि तेस्रो मुलुकबाट भारतको कोलकाता÷हल्दिया बन्दरगाह हुँदै रेलमार्गबाट नेपालका लागि आउने सामान क्लियर गर्दा गर्नुपर्ने सबै कागजी प्रक्रियाहरू हटाई विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली लागू भएबाट नेपालको आयात र निर्यात व्यापारमा क्रमशः सुधार हुंदै आएको छ ।