काठमाण्डौ । केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएलगत्तै सानो आकारको मन्त्रीमण्डल गठन गरे । उनको पहिलो रोजाईमा लालबाबुु पण्डित र थममाया थापामगर परे । शक्तिशाली मन्त्रालयहरु बाहेक वातावरण मन्त्रालय र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा पण्डित र मगरलाई ल्याएका ओलीले अब कस–कसलाई रोज्लान् ? विशेष गरी शेरबहादुर देउवाले आफ्नो कार्यकालमा थिलथिलो बनाएका धराप अर्थतन्त्रमा जादू चलाउन सक्ने गरी ओलीले कसलाई अर्थमन्त्री बनाउलान् भन्ने सर्वत्र चासो देखिएको छ । धराप अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउने भिजनसहितको कुन नेता अर्थमन्त्री बन्ला ?

एमाले उच्च स्रोतका अनुसार पार्टीभित्र अर्थमन्त्रीको लाइनमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र विष्णुु पौडेलले चुनाव जितेपछिदेखि नै आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् । दुवैले आफ्नो पूर्व कार्यकालमा अर्थतन्त्र सुधारका लागि राम्रो काम गरेको भन्दै यसपटक पनि अर्थमन्त्री पाउनुपर्ने दाबी पेश गरिरहेका छन् । 

उनीहरुसँगै यसपटक उपप्रधानसहित अर्थमन्त्रीमा जान एमाले महासचिव ईश्वर पोखरेल समेत इच्छुक छन् । यसअघि खासै अवसर नपाएका पोखरेलले आफूले रोज्जा मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेका स्रोत बताउँछ । 

उता, पाण्डेले भने आफूले अर्थमन्त्री हुँदा राम्रो काम गरेकोले यसपटक पनि आफैंले अवसर पाउनुपर्ने दाबी गरिरहेका छन् । केपी ओलीका खास विश्वासपात्र पौडेलले भने नाकाबन्दीको समयमा धरापमा परेको अर्थतन्त्रलाई उकास्ने र आफूले गरेको राम्रो काम तथा सही व्यवस्थापनकै कारण मुलुकको अर्थतन्त्र जोगिएको भन्दै यहीकारण यसपटक पनि अर्थमन्त्रालयको बागडोर आफूले सम्हाल्न पाउनुपर्ने दाबी गरिरहेका छन् ।

पार्टीभित्रको गुटगत सन्तुलन मिलाउने चुनौतिलाई ओलीले चिर्न सके भने उनको रोजाईमा फेरि पनि विष्णुु पौडेल नै पर्ने संभावना प्रवल छ । तर, पार्टीभित्रकै माधव नेपाल गुटले सन्तुलन मिलाउने गरी मन्त्रीमण्डल बिस्तारका लागि प्रभावकारी दवाब सिर्जना गर्न सके अर्थमन्त्रीमा सुरेन्द्र पाण्डे आउनसक्ने संभावना रहेको स्रोत बताउँछ । 

ईश्वर पोखरेलले पनि दवाब सिर्जना गरिरहे पनि उनलाई अन्य कुनै शक्तिशाली मन्त्रालय दिएर व्यवस्थापन गर्ने बिषयमा समेत छलफल चलिरहेको स्रोत बताउँछ । 

एमालेभित्रका तीन नेताले अर्थमन्त्रीका लागि आफ्नो दाबी पेश गरिरहँदा माओवादीले समेत यो मन्त्रालयमा आँखा लगाएको छ । माओवादीले ओली नेतृत्वको सरकारमा उपप्रमसहित अर्थमन्त्रीको रुपमा कृष्णबहादुर महरालाई पठाउन चाहेको छ । महराको पक्षमा ओली प्रधानमन्त्री बन्नुुअघि नै व्यापारी र व्यवसायीको केही समूहले लविङ गर्न समेत भ्याइसकेको बुझिएको छ । व्यापारी व्यवसायीले अर्थमन्त्रीको रुपमा महरासँग काम गर्न सहज हुने भन्दै ओलीलाई धेरैपटक अर्थमन्त्रीको रुपमा उनैलाई ल्याउन भनेका छन् । 

तर, व्यापारी व्यवसायीको कुरा सुुनेकै भरमा ओलीले महरालाई अर्थमन्त्री बनाउने संभावना न्यून छ । तर, पार्टी एकताको बिषय पेचिलो बनिरहेको अवस्थामा माओवादी केन्द्रले प्रभावकारी दवाब सिर्जना गर्न सके अर्थमन्त्रालय उसको पोल्टामा नपर्ला भन्न सकिन्न । सुरेन्द्र पाण्डेको पछिल्लो कालमा प्रचण्डसँग पनि निकटता छ । चितवनमा प्रचण्डले चुनाव लड्दा पाण्डेले उनीमाथि लगाएको गुनका कारण समेत महरा नभएको अवस्थामा प्रचण्डले पाण्डेलाई नै अर्थमन्त्री बनाउन ओलीलाई दवाब दिनसक्ने स्रोतहरुको दाबी छ ।  

यसअघिको अभ्यास हेर्दा प्रधानमन्त्री बन्ने नेताले आफ्नो अत्यन्त निकटका व्यक्तिलाई अर्थमन्त्री बनाउने गरेका छन् । माओवादीसँग एकताको कुरा टुंगोमा नपुुगेको अवस्थामा ओलीले महरालाई विश्वासपात्रको रुपमा अर्थमन्त्रालयको बागडोर सम्हाल्न दिने अवस्था देखिदैन । यस्तो अवस्थामा अर्थमन्त्रीको रुपमा पौडेल र पाण्डेको बलियो संभावना देखिन्छ । वरिष्ठताको हिसाबले प्रभावकारी दवाब सिर्जना गर्न सके ईश्वर पोखरेल नै पनि अर्थमन्त्री नबन्लान् भन्न सकिन्न । यदि पौडेल, पाण्डे र पोखरेलबीच बढी तानातान भए ओलीले आफू निकटको अर्को कुनै विश्वासपात्रलाई अर्थमन्त्रालयको बागडोर जिम्मा दिनसक्ने समेत स्रोतहरुको आँकलन छ । 

पोख्रेल, पाण्डे र पौडेलबीच बढी तानातानको अवस्था भए ओलीले अर्का विश्वासपात्र प्रदीप ज्ञवालीलाई पनि अर्थमन्त्रालयको साँचो दिनसक्ने संभावना छ ।