काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका चर्चित पाइलट विजय लामाको लाइसेन्स सस्पेन्ड गरिदिएको छ।

चैत १९ गते रातिको नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको यूट्यूव अन्तर्वार्ताको क्रममा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै निगमका प्रवक्ता समेत रहेका लामालाई प्राधिकरणले स्पष्टिकरण सोधेको थियो।

सात दिने स्पष्टीकरण लामाले समयमै बुझाए पनि उनको प्रष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्राधिकरणले उनको लाइसेन्स तत्कालका लागि निलम्बन गर्ने निर्णय गरिएको प्रष्ट पारेको छ। 

लामाले दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको उल्लेख गर्दै प्राधिकरणको फ्लाइट अपरेशन डिभिजन अन्तरगतको फ्लाइट सेफ्टी स्ट्याण्डर्ड डिपार्टमेन्टले उनलाई जहाज उडाउन किन दिने भन्दै स्पष्टीकरण सोधेको थियो ।

प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जिम्मेवार पाइलटले भ्रम उत्पन्न हुने गरी र सुरक्षा चासो बढाउने गरी अभिव्यक्ति दिएका कारण लाइसेन्स निलम्बन गरिएको जानकारी दिए । 

लामाले के भनेका थिए ?
लामाले पाइलटलगायत उड्डययनकर्मीलाई नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई ुआफ्नो इजाजतपत्र खारेज गर्नु चुनौती दिंदै अन्तर्वार्ता दिएका थिए । 

एक अनलाइन टिभीमा पाइलट लामाले ५५ मिनेट लामो अन्तर्वार्ताका क्रममा आवेशमा आई नियमन गर्ने निकायलाई चुनौती दिएपछि विवाद सुरु भएको हो । उनलाई गत बुधबार विभागले ७ दिने स्पष्टीकरण सोधेको थियो। 

निगमका प्रवक्ता लामाले अन्तर्वार्तामा आफू तनाव, थकान, अस्वस्थ र अनिन्द्रामा रहेको भनेका छन्। 

स्पष्टीकरण पत्र लेख्ने विभागका वरिष्ठ उडान सञ्चालक निरीक्षक बिएम अमात्यले लामाको अन्तर्वार्ता हेरेपछि 'त्यस्तो अवस्थामा सयौं यात्रु बोकेर जहाज उडाउन मिल्छ ?' भनेर लामालाई सोधेका थिए ।  

यदी पाइलट नै मानसिक वा शारीरिक तनावमा रहेको सार्वजनिक गर्छ भने तत्काल कम्पनीले ग्राउन्डेड गरेर मेडिकल जाँच गर्नुपर्ने र, लामा कार्यरत निगम व्यवस्थापनले तत्काल ग्राउन्डेड गर्दैन भने त्यो उडान सुरक्षामा झन् ठूलो लापरबाही हुने भन्दै उड्डयनविज्ञहरुले लामाको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । 

निगममा ३२ वर्षदेखि कार्यरत लामा नवौं तहका वरिष्ठ क्याप्टेन हुन्। हाल उनी एयरबसको वाइडबडी उडानमा छन्।