काठमाण्डौ । अमेरिकासहित ग्लोबल मार्केटमा उत्पादनमा भएको बढोत्तरी र मागमा देखिएको भारी गिरावटले कच्चा तेल(क्रूड)को मूल्य लगातार ओरालो लागी प्रति ब्यारेल ४५ डलरको स्तरमा आइपुुगेको छ । 

सन् २०१७ को सुरुवातदेखि हालसम्म कच्चा तेलको मूल्यमा २२ प्रतिशतसम्मको कटौति भइसकेको छ । विज्ञहरुले सन् २०१७ को अन्तसम्ममा कच्चा तेलको मूल्य घटेर प्रति ब्यारेल ४० डलरसम्म पुुग्नसक्ने प्रक्षेपण गरेका मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । 

कच्चा तेल(क्रूड)को घट्दो मूल्यको प्रभाव विभिन्न देशमा सक्रिय तेल मार्केटिंग कम्पनी, प्लाष्टिक, पेन्ट्स, केमिकल र टायर बनाउने उद्योगहरुलाई समेत प्रभाव पर्छ । कच्चा तेलको घट्दो मूल्यले सुनको मूल्यमा समेत उस्तै प्रभाव पार्छ । 

यसकारण घट्दैछ मूल्य
विश्लेषकहरुका अनुसार अमेरिकाको तेल उत्पादनमा देखिएको जोखिमका कारण समेत कच्चा तेलको मूल्य घटिरहेको छ । यस्तै, लिबियामा कच्चा तेलको उत्पादन चारवर्षकै उच्च स्तरमा भइरहेको छ । चीनमा खराब तथ्यांक सार्वजनिकसँगै कच्चा तेलको माग ह्वात्तै घटेको छ । 

विश्वभरमा क्रूडको आपूर्तिमा कहीँकतै कुनै व्यवधान छैन, तर माग घटेपछि कच्चा तेल उत्पादन गर्ने देशले मूल्य अझै घटाउन सक्नेछन् । 

विज्ञहरुले केही हप्ताभित्रै क्रूडको मूल्य प्रति ब्यारेल ४२ डलरमा झर्ने प्रक्षेपण समेत गरिसकेका छन् । न्यूज एजेन्सीहरुका अनुसार केही विज्ञले भने सन् २०१७ सम्ममा कच्चा तेलको मूल्य ४२ देखि ५० डलरको बीचमा घटबढ भइरहने दाबी गरेका छन् । 

नेपालमा के प्रभाव पर्छ ?
कच्चा तेलको मूल्य घट्यो भने भारतले आयात गर्ने खर्च कटौति हुन्छ । भारतले कच्चा तेल आयात गरी त्यसलाई रिफाइन गरेर नेपाललाई पेट्रोलियम पदार्थ बिक्री गर्छ । भारतको आयात खर्च कम भए उसले नेपाल आयल निगमलाई पठाउने मूल्य सूचि समेत घटाउनुपर्ने हुन्छ । यसले नेपालमा समेत पेट्रोलियम पदार्थ अझ सस्तिनेछ । पेट्रोलियम पदार्थ सस्तो हुँदा यसले ढुवानी तथा यातायात खर्च कम हुनेछ । उपभोक्ता तथा खाद्यान्न मुद्रास्फिति कम गराउन ढुवानी खर्च कटौतिले महत्वपूर्ण भूमिका खेल्छ । समग्रमा भन्दा पेट्रोलियम पदार्थको भाउ घट्दा महंगी कम हुन्छ । 

यस्तै, पेट्रोलियम पदार्थ बढी खपत हुने उद्योग कलकारखानाको संचालन खर्चमा समेत कटौति हुनेछ । यसले ती उद्योगीहरुको नाफा बढ्नेछ । पेट्रोलियम मूल्य कटौतिले सुनचाँदीको मूल्यमा समेत प्रभाव पार्छ ।