काठमाण्डौ । क्रेटिड रेटिङको विजिनेशमा इक्रा नेपालको एकाधिकार तोडिने भएको छ । नेपाल धितोपत्र बोर्डले केयर रेटिङ्स नेपाल लिमीटेडलाई संचालनको अनुमति दिएपछि हालसम्म क्रेडिट रेटिङको व्यवसायमा एकछत्र राज गरेको इक्रा नेपालको एकाधिकार तोडिने भएको हो । 

केयर रेटिङ्स इण्डियासँगको सहकार्यमा केयर रेटिङ्स नेपाल लिमीटेड स्थापना भएको हो । बोर्डले यो कम्पनीलाई बिहीबार संचालनको अनुमति दिएको हो ।

बोर्डका उपनिर्देशक निरञ्जय घिमिरेले केयर रेटिङ्स नेपाल लिमीटेडका संचालक डा. विनोद आत्रेय र सीइओ साजन गोयललाई कम्पनी संचालनको लाइसेन्स हस्तान्तरण गरेका थिए । 

नयाँ एजेन्सी स्थापना गर्ने सम्बन्धमा भदौ १५ गते विशाल ग्रुुप र इमर्जिङ नेपालले त्रिपक्षीय सम्झौता गरेका थिए । 

केयर रेटिङ्स नेपालले पनि इक्रा नेपालले झै आइपीओको ग्रेडिङ, बण्ड तथा डिवेञ्चरहरु तथा म्युचुुअल फण्डहरुको रेटिङ लगायतको सेवा उपलब्ध गराउनेछ । सीइओ साजन गोयलले बैंक, बिमा कम्पनी तथा नेप्सेमा सूचिकृत हुने कम्पनीहरुको संख्यामा भइरहेको वृद्धिले नेपालमा क्रेडिट रेटिङको विजिनेशको संभावना बढ्दै गएको बताएका छन् । 

यो कम्पनीको मुख्य प्रोमोटर केयर रेटिङ्स इण्डिया रहेको छ, जसको कम्पनीमा ५१ प्रतिशत सेयर स्वामित्व रहनेछ । यस्तै, नेपालको विशाल ग्रुुपको १० प्रतिशत, इमर्जिङ नेपाल लिमीटेडको १० प्रतिशत, चारवटा बैंक तथा बिमा कम्पनीको ५ प्रतिशत लगानी रहेको छ । यो कम्पनीमा ग्लोबल आइएमई बैंक, नेपाल रिइन्स्योरेन्स कम्पनी, प्रूडेन्सियल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन लिमीटेडले लगानी गरेका छन् । कम्पनीका बाँकी सेयरधनी विभिन्न व्यक्ति छन् । 

कम्पनी संचालनको स्वीकृति पाएसँगै संचालक डा. विनोद आत्रेयले आफूहरुले निकै प्रतिस्पर्धी र सहुलियत मूल्यमा क्रेडिट रेटिङको सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।