काठमाण्डौ । क्रेडिट रेटिङ फाइभ(५) भएका जलविद्युत कम्पनीलाई आइपीओ जारीमा रोक लगाउने लगायत ९ बुँदे माग राख्दै आइतबार सेयर लगानीकर्ता संघ सम्बद्ध ४ वटा संगठनले उर्जामन्त्रीसँग छलफल गरेका छन् । 

नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार संघ र लगानीकर्ता हित मञ्चका अधिकारीहरुले सामूहिक रुपमा उर्जामन्त्री वर्षमान पुनलाई भेटेर जलविद्युत कम्पनी र त्यसको सेयरमा भएका बेथिति हटाइदिन आग्रह गरेका हुन् ।

उनीहरुले क्रेडिट रेटिङको क्रममा फाइभ रेटिङ आएकाहरुलाई आइपीओ निश्कासनमा रोक लगाउनुपर्ने, कम्पनीको लोन फ्री नभएसम्म अर्को कम्पनी संचालन गर्न नपाउने व्यवस्था हुनुपर्ने, इक्वीटीको ३० प्रतिशत बढी सेयर निश्कासन गर्न नपाउने व्यवस्था समेत लागू हुनुपर्ने माग गरेका छन् । 

यस्तै, बैंकसँगको कन्सोर्टियम लोन र नेपाल विद्युत प्राधिकरणले पीपीएमा प्रस्तुत गरेको आर्थिक तथ्यांकभन्दा बढी नहुने गरी सर्वसाधारणलाई सेयर निष्कासन गर्नुपर्ने, कम्पनीको प्रति मेगावाट अठार करोडभन्दा बढी लागत लाग्ने कम्पनीको सेयर पब्लिकमा निष्कासन गर्न प्रतिबन्ध लगाउनुपर्ने, हाईड्रो कम्पनीहरुलाई नियमन गर्ने अहिलेसम्म पनि कुनै नियामक निकायको व्यवस्था नभएको अवस्थामा तुरुन्तै नियामक निकायको व्यवस्था गर्नुपर्ने माग राखेका छन् । 

यस्तै, ३० वर्षपछि हाईड्रोपावर कम्पनी सरकारी हुने हुँदा ३० वर्षपछि लगानीकर्ताको सेयर के हुने भन्ने विषयमा प्रष्ट कानूनी व्यवस्था गरिनुपर्ने, जलविद्युत कम्पनीले सरकारको वन क्षेत्र उपयोग गरेबापत त्यति नै जग्गा खरिद गरिदिनुपर्ने व्यवस्था खारेज हुनुपर्ने र दशहजार भन्दा बढी सेयर लगानीकर्ताहरुको सेयर भएको नेशनल हाइड्रोपावर कम्पनीअन्तर्गतको सुनकोशी क्यासकेट आयोजनामा सर्वसाधारण लगानीकर्ताको हक स्थापित गराइदिनुपर्ने माग समेत राखेका छन् । 

उर्जामन्त्री पुनले जलविद्युत कम्पनीको नियामक निकाय गठनका लागि आफूले तत्काल पहल थाल्ने आश्वासन दिएका नेपाल पूँजीबजार लगानीकर्ता संघका उपाध्यक्ष राजु पौडेलले जानकारी दिए । मन्त्रीले अन्य मागका बिषयमा समेत बृहत अन्तरक्रिया गरी अगाडि बढ्ने आश्वासन दिएका थिए । 

मन्त्रीसँगको छलफलमा नेपाल इन्भेष्टर्स फोरमबाट अम्बिका पौडेल र छोटेलाल रौनियार, नेपाल पूँजीबजार लगानीकर्ता संघबाट राधा पोखरेल र राजु पौडेल, सेयर लगानीकर्ता संघबाट उत्तम अर्याल र तारा सुवेदी, नेपाल पूँजीबजार संघबाट नवराज सुवेदी र नयन बास्तोला तथा लगानीकर्ता हित मञ्चबाट कमल भारती लगायतको सहभागिता थियो ।