काठमाण्डौ । नेपाल विज्ञापन संघ(आन)ले क्लिन फिडको विषयमा बदनियतपूर्ण समाचार तथा टिप्पणीहरु सार्वजनिक भइरहेका भन्दै आपत्ति जनाएको छ । 

संघका अध्यक्ष रविन्द्रकुमार रिजाल 'शशी'ले आइतबार एक विज्ञप्ति प्रकाशित गरी क्लिन फिडको समयावधि २०७७ कात्तिक ७ गते समाप्त हुने र यो नीति समयमै लागू हुनेमा आफूहरुलाई कुनै द्विविधा नरहेको प्रष्ट्याएका हुन् । 

'नेपाल सरकारको निर्णय सहित र संसदबाट पारित भई राष्ट्रपतिज्यूूबाट प्रमाणीकरण भएर नेपाल राजपत्र खण्ड ६९ अतिरिक्ताङक १५ मिति २०७६ कार्तिक ८ गते प्रकाशित भई कानूनी रुपमा अगाडी बढी सकेको विज्ञापन विधेयकको परिच्छेद २ को दफा ६ उपदफा २ मा स्पष्टरुपमा क्लिन फिडका विषयमा उल्लेख भएका विषयभन्दा फरक खालका धारणाहरु सार्वजनिक हुनुु आफैंमा विरोधाभाष छ ।' विज्ञप्तिमा भनिएको छ-'यस्ता विषयमा आम संचारमाध्यममा आएका समाचार तथा टिप्पणिहरु बदनियतपूर्ण छन् भन्ने  नेपाल विज्ञापन संघको ठहर रहेको छ । उक्त समाचार एवम् टिप्पणीलाई आधार बनाई क्लिन फिडका विषयमा सरोकार राख्नुु हुने विभिन्न व्यक्ति, संघ/संस्था तथा संचारगृहहरुलाई भ्रममा नपर्नु हुन समेत संघ अनुरोध गर्दछ ।'

विज्ञापन बोर्ड गठन तथा विज्ञापन नियमन गर्न बनेको विधेयकको कार्यविधि बनाएर सम्बन्धित मन्त्रालयले अगाडि बढाउने कुरामा आफूहरु विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ । 

संघले बिधेयकमार्फत कानुनी रुपमा अगाडि बढिसकेको क्लिन फिड तोकिएकै अर्थात आगामी कार्तिक ८ गते देखि लागू गर्न सरकारसँग माग गरेको छ ।