काठमाण्डौ । डा. युवराज खतिवडाले बुधबार पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन्। अर्थमन्त्रीमा नियुक्त भएसँगै खतिवडाले आजै दिउँसो ४ बजे शीतल निवासीस्थित राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। 

राष्ट्रियसभा सदस्यको पद हिजो मंगलबार (फागुन २० गते) सकिएसँगै खतिवडाले अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए। प्रधानमन्त्रीले आज बिहान पुनः खतिवडा अर्थमन्त्रीमा नियुक्त गरेका हुन्।

संविधानले प्रतिनिधिसभा तथा राष्ट्रियसभाको सदस्य नरहेको जोसुकै व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सकिने छुट दिएको छ। यही व्यवस्थामा टेकेर खतिवडा दोश्रो कार्यकालका लागि आगामी ६ महिनासम्म पुनः अर्थमन्त्रीमा नियुक्त भएका हुन्। यदि यो बीचमा सत्तारुढ नेकपाका सचिवालयका नेताबीच भएको सहमतिअनुसार राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत हुनेको संख्या हालको ३ बाट बढेर ९ पुगेको खण्डमा उनलाई पुनः राष्ट्रियसभामा मनोनयन गरी अर्थमन्त्रीकै रुपमा निरन्तरता दिइनेछ। संविधान संसोधनको प्रयास सफल भएन भने चाहि खतिवडाले अर्थमन्त्रीको रुपमा ६ महिना मात्र निरन्तरता पाउनेछन्। 

खतिवडाले अर्थमन्त्रीको रुपमा ६ महिनाका लागि निरन्तरता पाएसँगै राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेका छन्।