काठमाण्डौ । खराब संस्थाहरुलाई आफूमा गाभेर पनि कसरी राम्रो बित्तीय संस्था बन्न सकिन्छ भन्ने कुरालाई प्रभू बैंकले प्रमाणित गर्दै लगेको छ ।

यसैको फलस्वरुप बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा छलाङ मारेको छ । 

बैंकले वितरणयोग्य मुनाफा(फ्री प्रफिट)मा गत वर्षको यही अवधिको तुलनामा ७०.२८ प्रतिशतको छलांग मारेको छ । अघिल्लो वर्ष ६३ करोड ४९ लाख रुपैयाँमा सीमित यस्तो मुनाफा बढेर यो वर्ष १ अर्ब ८ करोडको उचाईमा पुगेको हो । 

अघिल्लो वर्षको यही अवधिमा ६० करोड ११ लाखमा सीमित खूद नाफा बढाएर बैंकले १ अर्ब ४ करोडको उचाई चुमाएको छ । यसरी खूद नाफामा पनि ७३.३२ प्रतिशतको फड्को मारेको बैंकको संचालन मुनाफातर्फ पनि करिब ६१ प्रतिशतको प्रगति भएको देखिएको छ । अघिल्लो वर्ष ८२ करोड ८८ लाख रुपैयाँ रहेको यस्तो नाफा बढेर यो वर्ष १ अर्ब ३३ करोडको उचाईमा पुगेको हो ।

व्यवस्थापनले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानीमा गत वर्षको तुलनामा ७६.८५ प्रतिशतको छलाङ मार्दै २ अर्ब १५ करोडको उचाई चुमाएको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १ अर्ब २१ करोड मात्र थियो ।

बैंकले समीक्षा अवधिमा १ खर्ब ४ अर्ब निक्षेप संकलन गरी ८८ अर्ब १५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ८६ अर्ब १४ करोड निक्षेप संकलन गरी ७१ अर्ब ७७ करोड कर्जा परिचालन गरेको थियो । निक्षेप करिब २२ प्रतिशतले बढाएको बैंकले कर्जामा चाहि करिब २३ प्रतिशतको बढोत्तरी गरेको छ । निक्षेप र कर्जातर्फको वृद्धिमा भने बैंक त्यति सन्तुलित देखिएको छैन । 

बैंकले आफ्नो रिजर्बकोषलाई पनि केही मजबुत बनाएको छ । अघिल्लो वर्ष ४ अर्ब ७२ करोड रहेको कोषको आकार बढी समीक्षा अवधिसम्म ५ अर्ब ६० करोड पुगेको छ ।

गत वर्षको यही अवधिको तुलनामा चुक्तापूँजीमा ४० प्रतिशतको वृद्धि गर्दा पनि नाफामा राम्रो प्रगति भएका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा बैंकले करिब २४ प्रतिशतको वृद्धि गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २०.४४ रुपैयाँ रहेको इपीएस बढेर यो वर्ष २५.३१ रुपैयाँ पुगेको हो । 

यो बैंकमा निकै ठूलो चिन्ता र चुनौतिको रुपमा रहेको खराब कर्जालाई घटाउन समेत बैंक व्यवस्थापन सफल देखिएको छ । यसैको परिणाम गत वर्षको यही अवधिमा ४.१२ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर २.४७ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६८.०३ रुपैयाँ रहेको छ ।