काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ । 

बजारले साताको सुखद ओपनिङ गरेसँगै लगानीकर्तामा नयाँ खालको आशा र आत्माबल बढेको देखिएको छ । बजारमा फेरि बढोत्तरीको क्रम सुरु भएको निश्कर्ष निकाल्दै थप खरिदारी गर्ने मूडमा लगानीकर्ता देखिएका छन् । 

विश्लेषकहरुको भनाईलाई आधार मान्ने हो भने आइतबारदेखि सुरु भएको बजारको बढोत्तरीको क्रम यो सातासम्म चल्नसक्नेछ । 

बजारमा यो दिन नेप्से परिसूचकसँगै कारोबार रकम समेत उचालिएर ७१ करोड माथि पुगेको छ । बजार परिसूचकसँगै कारोबार रकम समेत बढ्नुले सुखद भविष्यको संकेत गर्ने जानकार बताउँछन् । आइतबारको बजारले यही संकेत गरेको छ । 

बैंकहरुले प्रवाह गर्ने कर्जाको ब्याजदर घट्न थालेको, सेयर बजारका मुख्य भिलेनको रुपमा चित्रित अर्थमन्त्रीको बहिर्गमनको समय नजिकै आएको लगायतका कारणले बजारमा बढोत्तरीको क्रम सुरु भएको दाबी गरिएको छ । 

यो दिन नेप्से परिसूचक १६.०९ अंकले बढेर ११८२.३१ को विन्दूमा पुगेको छ । 

राम्रा र बलिया कम्पनीको सेयरमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ३.५१ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.३ अंकको बढोत्तरी भयो । 

यो दिन बजारका सबै समूहको उपसूचक हराभरा भए । सबैभन्दा बढी माइक्रोफाइनान्सको उपसूचकमा बढोत्तरी भयो । यो समूह ४०.२४ अंक(२.४ प्रतिशत)ले बढ्यो । 

यस्तै, बैंकिङ समूह १६.७४ अंक(१.६२ प्रतिशत)ले बढ्यो भने जीवन बिमा समूह ८३.६८ अंक(१.४३ प्रतिशत) तथा निर्जीवन बिमा समूह ५९.२९ अंक(१.३१ प्रतिशत)ले बढ्यो । 

यो दिन व्यापार समूह २५ अंकले बढ्यो भने होटल  समूहमा १०.६४ अंक, विकास बैंक समूहमा १९.३६ अंक, जलविद्यूत समूहमा ८.६७ अंक, वित्त समूहमा ३.८६ अंक, उत्पादन तथा प्रशोधन समूहमा २.३९ अंक, म्युुचुअल फण्डमा ०.०१ र अन्य समूहमा २.७७ अंकको बढोत्तरी भयो । 

आइतबार पनि बजारमा शिवम सिमेन्टकै रजगज चल्यो । कारोबार सुरु भएदेखि तीव्र गतिमा बढ्न थालेको शिवमको सेयरमा बजारको उतराद्र्ध समयमा बिक्री चाप देखियो । प्रफिट बुक गर्नेहरुको दौडले यस्तो भएको थियो । यहीकारण बजार बन्द हुनु केही समयअघि शिवमको मूल्य घट्यो । तर, बन्द हुँदा भने १ रुपैयाँले बढेर प्रतिकित्ता ४९० रुपैयाँमा थामियो । 

लगानीकर्तामाझ शिवम सिमेन्ट आकर्षणको स्क्रिप्ट बन्दा यसले मात्रै यो दिन ५ करोड ६२ लाख बढीको कारोबार गर्यो ।

एनआइसी एशिया बैंकले ४ करोड ३४ लाख बढीको कारोबार गरेको यो दिन ग्रामीण विकास लघुवित्तले ४ करोड २१ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ५ लाख, हिमालयन डिस्टीलरीले २ करोड ५० लाख, नागरिक लगानी कोषले २ करोड ३२ लाख, डिप्रोक्स लघुवित्तले १ करोड ९१ लाख, एनएमबी बैंकले १ करोड ७७ लाख, नेपाल बैंकले १ करोड ७१ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ५४ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन वोमी माइक्रोफाइनान्सको सेयर मूल्यमा उछाल आई पोजिटिभ सर्किट लाग्यो । 

यस्तै, ग्रामीण विकास लघुवित्तको सेयर मूल्यमा पनि ९.५४ प्रतिशत(१० प्रतिशतकै हाराहारी)को बढोत्तरी भयो । 

धेरै मूल्य बढ्ने १० कम्पनीको सूचिमा ५ स्थान माइक्रोफाइनान्सले कब्जा गरे । 

यो दिन नेपाल फाइनान्स लिमीटेडको सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आयो । यो कम्पनीको मूल्य ५.६३ प्रतिशतले घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले ५.१२ प्रतिशतले सम्पत्ति गुमाए।