काठमाण्डौ । भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइनमा रहेका ९४ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको छ । 

आइतबार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् । 

खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा उडान प्रतिबन्धको बेला विभिन्न देशबाट आएका ९४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । ती सबैको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको डा. देवकोटाले जानकारी दिए । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार हालसम्म १५ सय २९ वटा परीक्षण भएका छन् । साथै देशभरी ११३ जना आइसोलेसनमा रहेका छन् ।

डा. देवकोटाले हालसम्म केन्द्रीय प्रयोगशालामा १५२९ को स्वाब परीक्षण भइसकेको जानकारी दिए । 

आइतबारदेखि काठमाण्डौबाहेक ७ अन्य ठाउँमा समेत कोरोना संक्रमणको टेस्ट हुन थालेको जानकारी दिंदै उनले भोलिदेखि बुटवलमा र अन्य केही क्षेत्रमा समेत टेस्टको प्रबन्ध मिलाइने जानकारी दिए । 

आइतबारसम्म काठमाण्डौमा १२ जना र उपत्यकाबाहिर १०१ जना आइसोलेसनमा रहेका जानकारी दिंदै उनले हालसम्म भेटिएको संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङको काम समेत जारी रहेको बताए । 

यसैगरी, सरकारले संचालन गरेको १११५ र ११३३ का दुईवटा कलसेन्टरमा २४ घण्टामा २७६६ वटा कल रिसिभ भएको समेत उनले जानकारी दिए । 

स्वास्थ्य मन्त्रायले संचालन गरेको मोवाइल एप्समा पछिल्लो २४ घण्टामा १८१२ व्यक्तिले आफ्नो स्वास्थ्य लक्षण प्रविष्ट गरेका र तीमध्ये २४ जना रेडजोनमा परेका समेत उनले जानकारी दिए । सरकारले एप्समार्फत नै कोरोना संक्रमण भए या नभएको पत्ता लगाउने फिचरसहितको भर्चुअल टेस्टको सुविधा उपलब्ध गराइरहेको छ, जहाँ सर्वसाधारणले आफूमा आएको लक्षण प्रविष्ट गरी कोरोनाको संभावित संक्रमण थाहा पाउन सकिन्छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाहरुलाई रेडजोनमा पार्दै स्वास्थ्य मन्त्रालयले ती व्यक्तिको स्वाब परीक्षणको व्यवस्था मिलाउने गरेको छ । 

एप्समार्फत आफ्ना स्वास्थ्य लक्षण प्रविष्ट गरेकामध्ये हालसम्म कुल १५० जना रोडजोनमा परेका र उनीहरुलाई सम्पर्क गरी स्वाब परीक्षणको व्यवस्था मिलाउन लागिएको डा. देवकोटाले जानकारी दिए । 

यसैबीच, स्वास्थ्य मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा कुनै पनि आकस्मिक सेवा नरोक्न पुनः निर्देशन दिएको छ । आकस्मिक अन्तरगतका सबै खालका सेवा उपलब्ध गराउन अनिवार्य रहेको उल्लेख गर्दै उनले बिरामीहरु एक अस्पतालबाट अर्को अस्पतालमा जान नपरोस् भन्ने उद्देश्यले काम गर्न अस्पतालहरुलाई निर्देशन दिएका छन् ।