-चन्द्रकान्त खनाल
रुपन्देही । प्रदेश नम्बर ५ मा सवारी साधन खरिदमा अनियमितता भएको आवाज उठिरहेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ।

प्रदेशसभा सचिवालय र विभिन्न मन्त्रालयका लागि सवारी साधन खरीद गर्दा व्यापक अनियमितता भएको गुनासो उठेपछि प्रदेशसभाको सार्वजनिक लेखा समितिले उपसमिति बनाएर छानबिन गरिरहेको छ भने अख्तियारले अनुसन्धान थालेको छ ।

आयोगको बुटवल कार्यालयका प्रमुख एवम् सहसचिव रविलाल पन्थले गाडी खरिदमा भएको भनिएको अनियमितता बारेमा समाचार प्रकाशित भएपछि अख्तियारको ध्यान त्यतातिर गएको भन्दै अनुसन्धान अगाडि बढाइएको बताए ।

खरिद गरिएका सवारी साधनका सबै फाइल मगाएर गहन अनुसन्धान गर्ने प्रमुख पन्थले जानकारी दिए ।

एउटै सवारी खरिद गर्दा फरक–फरक मूल्यमा खरिद गरिएको, व्यक्तिगत रुपमा खरिद गर्दा भन्दा महङ्गो मूल्यमा खरिद गरिएको प्रश्न उठेपछि यसबारे छानबिन गर्न लेखा समितिले पुस २८ गते कुलप्रसाद पोखरेल संयोजक, बैजनाथ कलवार र कल्पना पाण्डे सदस्य रहेको तीन सदस्यीय उपसमिति गठन गरेको थियो । 

उपसमितिले प्रदेशसभा सचिवालय र सबै मन्त्रालयबाट प्राप्त फाइलको अध्ययन सकेपछि प्रारम्भिक प्रतिवेदन तयार गरेको हो । प्रदेशसभा र प्रदेश सरकारका लागि खरिद भएका गाडी २२ करोड ७५ लाख ५७ हजार ९ सय ९९ रुपैयाँका रहेका छन् । त्यसबाहेक मोटरसाइकल तथा स्कुटीमा पनि लाखौं रुपैयाँ खर्च भएको छ ।

 एउटै गाडी प्रदेशसभा र मन्त्रालयले खरिद गर्दा तीनथरी मूल्य देखिएको छ । गाडी खरिदमा अनियमितताको प्रश्न उठेपछि सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी र प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले गाडी फिर्ता गरेका थिए् । 

प्रदेशसभामा खरिद गरिएका गाडीको मूल्य एउटाको ७१ लाख ९५ हजार छ भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सोही गाडीलाई ७२ लाख ९९ हजार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ७२ लाख ४२ हजारमा खरिद गरिएको  उल्लेख  छ ।