काठमाण्डौ । बढ्दो कम्पनी सञ्चालन खर्च र बिग्रँदो व्यापारिक परिस्थितका कारण करिब एक चौथाइ जर्मनी कम्पनीहरू चीन छोड्ने तयारीमा लागेका छन्।

जर्मनी चेम्बर अफ कमर्सको वार्षिक सर्भेअनुसार चीनमा उत्पादन गरिरहेका करिब २३ प्रतिशत जर्मनी कम्पनीहरुले या त आफ्नो उत्पादन बन्द गर्ने निर्णय लिएका छन् या त यसबारे गम्भीर विचारविमर्श गरिरहेका छन् । यसका लागि चीनमा कार्यरत ५२६ जर्मनी कम्पनीहरुमाझ गरिएको सर्भेअनुुसार चीन छाड्ने विषयमा गम्भीर छलफलमा रहेका कम्पनीमध्ये करिब एक तिहाइले त पूर्ण रुपमा नै चीन छाड्ने तयारीमा जुटेका छन् । बाँकी रहेका कम्पनीहरु आफ्नो कारोबार अन्य देशमा स्थान्तरण गर्ने तयारीमा छन् ।

कम लागतमा स्थापना, जनशक्ति र कच्चा पर्दाथ उपलब्ध हुने भएकाले भारत र अन्य दक्षिण एसियाली मुलुकहरु यी कम्पनीको रोजाइमा पर्न सक्छन् ।

मुख्य रुपमा चीन अहिले आफ्नो अर्थतन्त्रलाई सन्तुलन गर्ने प्रयासमा छ । यसका लागि ऊ निर्यात र बृहत लगानीद्वारा उपभोक्ता खर्चमा आधारित अर्धतन्त्रका साथ अगाडि बढिरहेको छ । जसका कारण चीनको श्रमबजार असाध्यै महँगो हुन जाँदा कयाँै कम्पनीहरुको सञ्चालन खर्च बढिरहेको छ । 

यसका अलावा चीन र अमेरिकाबीच जारी व्यापारिक युद्धका कारण पनि चीनबाट हुने निर्यात महँगो हुन गएको छ । यसले लगानीको तुलनामा हुने मुनाफामा कमी आइरहेको छ ।

यसअघि पनि अन्य विदेशी कम्पनीहरुले चीन छोड्ने निर्णय लिइसकेका छन् । यसरी एकपछि अर्का विदेशी कम्पनीहरुले चीन छाड्ने निणर्य लिँदै गर्दा चीनको अर्थतन्त्र खस्कने र यसले चीनको आर्थिक वृद्धिदरलाई नकारात्मक असर पार्ने अड्कलबाजी काटिँदैछ । – एजेन्सी