सल्यान । यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको साझेदारीमा मेगा बैङ्क नेपाल लिमिटेडले सल्यानको खलङ्गामा आफ्नो नयाँ शाखा खोलेको छ । 

मेगा बैङ्क सञ्चालक समितिका सदस्य सीएन पाण्डे र सक्षमका टोली उप–प्रमुख निर्मल दाहालले बुधबार शाखाको औपचारिक उद्घाटन गरे । मेगा बैंकको यो ४८ औं शाखा हो । 

सल्यान, खलङ्गामा आफ्नो शाखा खोल्ने मेगा बैंक दोस्रो निजी वाणिज्य बैङ्क बनेको छ । खलंगामा सानो बजार रहेको छ, जसले यहाँ स्थापना भएका धेरै सरकारी तथा निजी कार्यालयहरूको आवश्यकतालाई परिपूर्ति गर्दै आएको छ । 

त्यसैगरी, यस क्षेत्रमा साना तथा मझौला आकारका उद्योगहरूको संख्या पनि वृद्धि हुँदै गइरहेको छ, जसले गर्दा खलङ्गाका स्थानीयलाई सेवा प्रदान गर्ने गरी औपचारिक बैङ्किङ सेवाको थालनी गर्न आवश्यक परिरहेको थियो । मेगा बैङ्कले यस क्षेत्रमा २०७४ जेष्ठ १६ मा आंशिक सेवा (सफ्ट लञ्च)को प्रारम्भ गरेयता ४५० भन्दा बढी बैङ्क खाता खोलिसकेको छ । 

“यो त केवल शुरुवात हो । हामीले आगामी वर्षभरीमा करिब २ हजार ग्राहकसम्म पुग्ने लक्ष्य राखेका छौं ।”, मेगा बैङ्कका सञ्चालक समितिका सदस्य पाण्डेले भने, “हाम्रो लघुकर्जा यस क्षेत्रमा साना किसानहरूप्रति लक्षित छ, जसको जीविकोपार्जन कृषि र पशुपालनमा निर्भर छ । यसको अतिरिक्त, पछि गएर हामीले यस शाखाबाट सबै किसिमका विप्रेषण सम्बन्धी सेवाहरू पनि प्रदान गर्नेछौं । सक्षम–मेगा साझेदारीको हिस्सा स्वरूप, हामीले विद्यालय तथा कलेजका विद्यार्थीहरूका लागि वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरी उनीहरूलाई थप बचत गर्न र बजेट बनाउने सीपको बारेमा आफ्ना परिवारका सदस्यहरूलाई पनि सिकाउन प्रोत्साहन गर्ने पनि हाम्रो योजना रहेको छ ।”

सक्षम–मेगा बैङ्क साझेदारी सन् २०१५ मा शुरु भएको हो । यस साझेदारीका लक्ष्यहरू ४ वटा नयाँ शाखा र ३० वटा नयाँ शाखारहित बैङ्किङ सेवाविन्दुहरूको स्थापना गर्ने र “ट्याब बैङ्किङ” को अवधारणा ल्याएर अछाम, दार्चुला, डडेल्धुरा, दाङ, कैलाली तथा सल्यान गरी छ जिल्लामा रियल टाइम मोबाइल वित्तीय सेवाहरू प्रदान गर्ने रहेका छन् ।

सक्षमका टोली उप–प्रमुख निर्मल दाहालले यस साझेदारी कार्यक्रममार्फत नवीनतम वितरण प्रणालीहरू प्रयोग गरेर अछाम, दार्चुला, डडेल्धुरा, दाङ र कैलाली जिल्लाका दुर्गम समुदायहरूसम्म लघु–बैङ्किङ उत्पादन तथा सेवाहरूको विस्तार भइसकेको जानकारी दिए । खलङ्गा साना तथा मझौला उद्योगहरूका लागि वृद्धिउन्मुख बजार रहेको र यस क्षेत्रमा विद्यमान वित्तीय संस्थाहरूबीचको प्रतिस्पर्धालाई बढावा दिने मात्र नभई सेवा नपाएका जनसंख्यालाई वित्तीय सेवा तथा उत्पादनहरू पुर्याउने उद्देश्यले पनि मेगा बैङ्कसँग साझेदारी गरिएको उनको भनाई थियो । 

सक्षम यूके एडको सहयोग प्राप्त एक्सेस टु फाइनान्स अभियान हो । यसलाई नेपालमा डिएफआइडी नेपालका लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।