काठमाण्डौ । दश हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तिय साक्षरता प्रदान गर्ने उद्देश्यका साथ खल्ती डिजिटल वालेटले बुधबारदेखि  स्मार्ट छोरी अभियान सुरु गरेको छ । 

देशव्यापी रुपमा संचालित यस अभियानले किशोरी र महिलाहरुमाझ पुगेर उनीहरूको जीवन र समुदायमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने अझै पनि घरका अधिकांश निर्णयहरु पुरुष सदस्यले मात्रै लिने गरेको पाइन्छ । साथै, हाम्रो देशमा पुरुषको तुलनामा महिलामा बेरोजगारीको समस्या धेरै छ । डिजिटल शीपको अभाव नै उनीहरुको करिअर अगाडि नबढ्नुको एउटा अड्चनको रुपमा देखिएको छ ।

स्मार्ट छोरी अभियानले उनीहरुलाई बिभिन्न जीवनउपयोगी सीप प्रदान गरी क्षमता अभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने कम्पनीको दाबी छ ।

‘स्मार्ट छोरी खल्ती एपभित्र संचालित एउटा ई–लर्निङ प्लाटफर्म हो, जहाँ सहभागीहरुले सूचना तथा सञ्चार प्रविधीको सही सदुपयोग गर्न सिक्नुका साथै डिजिटल भुक्तानी, अनलाईन  सुरक्षा र वित्त व्यबस्थापन लगायतका कुराहरु सिक्नेछन् । स्मार्टफोन बोक्ने र इन्टरनेटको पहुँचमा रहेका १५ देखि ३५ वर्ष उमेर समूहका नेपाली किशोरी तथा महिलाहरु यो अभियानमा सामेल हुन सक्नेछन् ।’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

अभियानको घोषणा गर्दै ‘खल्ती’का निर्देशक तथा ’स्मार्ट छोरी’का संयोजक अमित अग्रवालले पछिल्लो समयमा डिजिटल नेपाल र स्मार्ट सिटीका बारेमा धेरै चर्चा हुनथालेको, तर अधिकांशको ध्यान भौतिक पूर्वाधार विकासमा मात्र केन्द्रीत रहेको बताए । पूर्वाधारको विकासले मात्रै डिजिटल नेपाल संभवन नहुने र यसका लागि डिजिटल साक्षर जनशक्ति र जनसहभागिता उत्तिकै आवश्यक पर्ने उल्लेख गर्दै महिलाहरुको सशक्तिकरणमा ध्यान दिइनुपर्नेमा जोड दिए । 

यो अभियानले नेपाल सरकारको स्मार्ट सिटि र डिजिटल नेपालको सपनालाई टेवा पुर्याउने उनको दाबी छ ।