काठमाण्डौ  । हिमालयन बैंकको अवस्था खस्किँदै गएको छ । चालु आर्थिक वर्षको  तेश्रो त्रैमासको मंगलबार  प्रकाशित अपरिस्कृत वित्तीय विवरणमा यो बैंकका केही महत्वपूर्ण सूचक खराब बन्दै गएको देखिएको हो । 

समीक्षा अवधिमा बैंकको संचालन नाफा घटेको र निस्क्रिय कर्जा(एनपिएल) समेत नियन्त्रण भन्दा बाहिर गएको देखिएको छ । 

बैंकले अघिल्लो  वर्षको यही अवधिमा २ अर्ब ३९ करोड संचालन नाफा आर्जन गरेकोमा त्यो घटेर यो वर्ष २ अर्ब १२ करोडमा सीमित भएको  हो ।
अघिल्लो वर्ष यही अवधिमा ०.९ प्रतिशत रहेको निस्क्रिय  कर्जा बढेर १.१९ प्रतिशत पुगेको  हो ।

बैंकले समीक्षा अवधिमा १ अर्ब ६१ करोड खूद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको  यही अवधिको तुलनामा ५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ५३ करोड खूद नाफा आर्जन  गरेको थियो ।

समीक्षा अवधिमा हिमालयन बैंकले ९६ अर्ब ३२  करोड निक्षेप संकलन गरी ८५ अर्ब ४५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ९२ अर्ब ८९ करोड निक्षेप संकलन गरी ७८ अर्ब ८ करोड कर्जा परिचालन गरेको थियो ।

यो अवधिमा बैंकको  खूद ब्याज आम्दानीमा  पनि सामान्य प्रगति  भएको छ । अघिल्लो वर्ष २ अर्ब ७६ करोड रहेको यस्तो आम्दानी बढेर यो वर्ष २ अर्ब ९१ करोडको उचाईमा पुगेको छ ।

यो अवधिमा बैंकको रिजर्ब कोष थप मजबुत भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म ४ अर्ब ६३ करोड रहेको कोषको आकार बढी यो वर्ष ५ अर्ब २० करोड पुगेको छ । 

बैंकले आफ्नो चुक्तापूँजीमा  २५ प्रतिशतले वृद्धि गर्दा सोहीअनुसारको नाफा बढाउन नसकेका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमासमा ३१.५३ रुपैयाँ रहेको यस्तो आम्दानी  घटेर  २६.४८ रुपैयाँ कायम भएको हो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ .१६४.११ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.०३ गुणा कायम भएको छ ।