-प्रकाश बञ्जारा
यूएई । निकै छोटो समयमै २ पटक छुट्टी लिएर घर जानुपर्ने भएपछि खर्च पुर्याउन धौ धौ भएका सुनसरी घर भई दुवईमा रोजगार गरिरहेका श्रवण घिमिरे(नाम परिवर्तन)लाई अचानक आएको अफरले केही राहत दिलायो । अफर अनुसार उनले केही सामान दुवई एयरपोर्टबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौसम्म लगिदिनुपर्ने थियो भने बदलामा उनलाई बाटो खर्च बापत केही रकम दिइने बताइएको थियो । 

झण्डै  ४ बर्षदेखि सयुक्त अरब ईमिरेट्सको दुवईमा रोजगारी गरिरहेका घिमिरेले विदामा जाने बेलामा साथीमार्फत चिनजान भएका एकजना हुण्डी कारोबारीको ५० ग्राम बराबरको सुनको बाला, एउटा ल्यापटप कम्प्युटरको साथमा एकथान आईफोन लिएर गए । नेपालको विमानस्थलमा पुग्नासाथ बाहिर पर्खिएर बसेका एक युवाले उनले लगेको सामान लिए र सम्झौता अनुसारको बाटो खर्च ७ हजार रुपैयाँ तुरुन्तै दिए । 

अर्का, काठमाण्डौ घर भई दुवईमा काम गर्ने रमेश क्षेत्री(नाम परिवर्तन)ले पनि चिनेकै एक हुण्डी कारोबारीको सुनको सिक्री ३ हजार बाटो खर्चमा काठमाण्डौ पुर्याइदिए । लामो समयपछि छोटो छुट्टीमा गएका रमेशले लगेको सिक्री भने विमानस्थलमा बुझिएन । पाउने मान्छेलाई फोन गर्दैै समय मिलाएर जिम्मा लगाउन ४ दिन जति समय खेर गयो । “३ हजारको ३ सय जति त फोनमा र पुर्याउन जाँदाको गाडी भाडामै सकियो।” रमेशले बिजशालासँग भने । 

उता, सोलुखुम्बुका लाक्पा शेर्पाले भने भैपरि आउने बिमा इमेरजेन्सी छुट्टीमा जाँदा समेत साथीको वचन काट्न सकेनन् । आफ्नो घरको अवस्था र अर्काको सम्पत्ति लिएर जाँदा अप्ठेरोमा परिन्छ कि भन्दै भन्दै ५ तोलाको सुनको बाला साथीकोे अनुरोधमा काठमाण्डौसम्म लिएर गए र साथीका ‘मान्छे’लाई हात लगाईदिए । बदलामा उनले केही पाएनन् साथीको धन्यवाद शिवाय । “बाहिर एक्सचेञ्ज हाउसमा भन्दा २/४ पैसा बढी रेटमै मेरो पैसा नेपाल पठाईदिनुहुन्थ्यो अनि उहाँको बचन काट्नै सकिँन, तर त्यस्तो केही समस्या पनि भएन ।” शेर्पाले भने । 

रमेश, लाक्पा, श्रवण लगायतका थुप्रै अरबमा रोजगारी गर्ने नेपालीहरु यहाँ भेटिन्छन् । कोही जानकारीको अभावमा त कोही जानकारी हुँदाहुँदै पनि गैरकानुनी काममा साथ दिईरहेका हुन्छन् । हुण्डीमार्फत यहाँ सँकलन भएको रकमलाई कारोबारीहरुले यही माध्यमबाट नेपाल भित्र्याउने गर्छन् । यसो हँुदा एकातिर देशमा भित्रिनुपर्ने रेमिट्यान्सयोग्य रकममा कमी आएको छ भने अर्को तिर कमोडिटिज सामान देशमा भित्रिदाँ सम्म ठूलो मात्रामा कर छली भइरहेको छ ।  एक विश्वस्त स्रोतले बिजशालालाई दिएको जानकारी अनुसार हुण्डी व्यवसायीहरुले सुन, ल्यापटप, कम्प्युटर, टिभी तथा मोवाइल फोन जस्ता सामानको दर नै तोकेर बाटो खर्च दिने गरेका छन् । जुन कुराले लगिदिने व्यक्तिलाई झिनो रकमको फाइदा भएता पनि देश र अर्थतन्त्रका लागि ठूलो घाटा भइरहेको हुन्छ । 

स्रोतका अनुसार कारोबारीहरुले सुनमा प्रति ५० ग्रामको १ सय देखि ५ सय दिरामसम्म, त्यस्तै प्रति ल्यापटपको १ सय दिराम, मोवाइल तथा ट्याब्लेटको ३० देखि ५० दिरामसम्म बाहकले मानेसम्म कन्भिन्स गरेर बाटो खर्च दिने गर्छन् । कतिपय चलाख कारोबारीले त चिनजानको साथीभाईलाई त्यत्तिकै भिडाएर सित्तैमा सामान पास गर्ने गरेको पाइएको छ । जसमा चिनजान भएकालाई दुवईमा तथा चिनजान नभएका मार्फत सामान पठाए सामान बुझाइसकेपछि नेपालमै बाटो खर्च दिने गरेको भुक्तभोगीहरुको भनाई छ । 

सामान्यतया अरब मुलुकबाट नेपाल भित्राइएको सुनमा सिजन र कारोबारको उत्तरचढाव हेरी प्रतितोला ३ देखि ५ हजार रुपैयाँसम्म फाइदा हुने गरेको कारोबारीहरु स्वीकार गर्छन । पैसाको तत्काल आवश्यकता नपर्ने कतिपय ठूला कारोबारीहरुले त सुनको मूल्य घटेको बेला किनेर पठाउने र मूल्य आकाशिएको बेला बेचेर मोटो फाइदा लिने गर्छन् भने साना व्यवसायीले भने सकेसम्म चाँडो बेचेर कालोधनलाई सेतो बनाउने गरेका छन् । 

नाम नखुलाउने शर्तमा एक अनुभवीले भने अनुसार कतिपय हुण्डीका कारोबारीले एउटै ल्यापटपको झोलामा २ वटा ल्यापटप हालेर समेत भन्सार पार गराउने गरेका छन् । एकजनाले १ थान ल्यापटप भन्सार नतिरी लानसक्ने सरकारी प्रावधान छ भने अर्को थानका लागि तोकिएको भन्सार महशुल तिर्नुपर्छ । 

त्यसैगरी, सुनको गहना ५० ग्रामसम्म मात्र बिनाभन्सार लान सकिन्छ भने काँचो सुन भने लान प्रतिबन्ध गरिएको छ । तर, ठूला दलालहरुले च्यानलमार्फत बेला बेलामा ठूलो परिमाणमा सुन भित्राउने गरेको उदाहरणहरु बारम्बार सार्वजनिक हुने गरेका छन् । 

अरब इमिग्रेसनमा कडाई 
आफ्नो देशमा कर छली गर्न ठूलो परिमाणमा सुन लिएर जानेको सँख्या बढेको भन्दै गैरकानुनी ढगँले बाहिरिने सामानमा संयुक्त अरब इमिरेट्सले कडाई गरेको छ । देश फर्किन लागेको एकजना एसियन नागरिक गत हप्ता यहाँको सारजाह विमानस्थलबाट पक्राउ परेपछि यहाँको प्रहरीले त्यस्तो कार्यमा संलग्नलाई कडाई गरेको बताएको छ ।

पक्राउ परेका व्यक्तिले खाद्यसामानको प्लाष्टिकको बट्टामा सुन मिसाएर ईमिग्रेसन पार गर्न लागेपछि प्रहरीले शंकाको आधारमा खानतलासी गरेको थियो । सो क्रममा ती व्यक्तिले बैधानिक रुपमै सुन खरिद गरेको रसिद देखाए भने आफ्नो देशमा भन्सार छली गर्न यस्तो प्रक्रिया अपनाएको बयान प्रहरीसमक्ष दिएका छन् । उनलाई पक्राउ गरी जेलमा राखिएको छ भने उनी कुन देशका नागरिक हुन भन्ने कुरा भने खुलाईएको छैन ।