-प्रकाश बञ्जारा
यूएई । मध्यपूर्वको विकसित देश संयुक्त अरब इमिरेट्स विश्वका धेरै दक्ष, अर्धदक्ष तथा श्रमजिवीको रोजाईमा पर्ने गर्छ । ट्याक्स शून्य तलबका कारणले होस् या त खुल्ला बजार अर्थनीति, साथै समानताको दृष्टिकोण, यी सबै विश्वले युएईलाई मन पराउने कारणहरु हुन्। 

कामको सिलसिलामा युएई आउनेहरुले सबभन्दा बढी मन पराउने शहर दुवई नै हो र यसको मुख्य कारण भनेको यहाँको अघोषित स्वतन्त्रता हो ।

जसले गर्दा नै दुवई केही वर्षदेखि व्यवसायिक, अनुभवी विश्वकै कामदारको सपनाको देशको रुपमा विकासित भइरहेको छ  । 

यहाँ कामका लागि आउने तथा आउन चाहनेहरुको मुख्य उद्देश्य नै भव्य जीवनशैली र श्रमको मूल्याङ्गकन गर्दै दिइने पदोन्नति हो । यहाँ काम गर्ने  कामदारको औसत तलबमान के कति छ त ? कसरी दुवईले विश्व श्रमबजारको ध्यानाकर्षण गरेको छ, यो बिषयमा बिजशालाले नेपाली पाठकका लागि तयार गरेको सामाग्री यहाँ प्रस्तुत गरिएको छ । 

मार्केटिङ्ग अफिसर 
राम्रो अंग्रेजी भाषामा दख्खल भई बजारीकरणको ज्ञान भएकाहरुका लागि मार्केटिङ्ग अफिसरको राम्रो अवसर छ युएईमा । पढाई पनि मार्केटिङ्ग सम्बन्धी भएका र मार्केटिङ्गमा पहिले नै अनुभव हासिल गरिसकेकाहरुको यहाँ ठूलो माग हुन्छ । यो पदमा काम गर्नेको मासिक तलब सुविधा ३ हजार ५ सय तथा ४ हजारबाट सुरु हुन्छ भने पदोन्नतिसँग अन्य तलब सुविधाहरु पनि बढ्दै जान्छ । मार्केटिङ्गमा डिग्री गरेका तथा ठूलो आकारको कम्पनीमा पहिले अनुभव सँगालेकाहरुलाई मार्केटिङ्ग म्यानेजर, सेल्स एण्ड मार्केटिङ्ग डाइरेक्टर तथा चिफ मार्केटिङ्ग अफिसर जस्ता पदहरुमा पदोन्नतिको सम्भावना समेत प्रशस्त हुन्छ । यसरी मार्केटिङ्गका उपल्लो तहमा काम गर्ने अधिकारीको मासिक तलव सुविधा कम्पनीको आकार हेरेर २० हजारदेखि ५० हजार दिरामसम्म हुन्छ । कम्पनीहरुले ठूलो पदमा काम गर्नेहरुलाई तलब सुविधाको साथमा बसाइका लागि अपार्टमेन्ट, बालबच्चाको पढाई खर्च, परिवारका लागि भिषाको सुविधा, पेन्सन लगायतका सेवा समेत दिन्छन् ।

एकाउण्टेन तथा फाइनान्स प्रोफेसनल
कार्यालयहरुमा कम्पनीको आयव्यायको हिसाबकिताब राख्नेदेखि लिएर अर्थसम्बन्धी कम्पनीको नीतिनियम बनाउनमा फाईनान्स प्रोफेसनलको माग उत्तिकै हुने गर्छ । अर्थशास्त्र तथा व्यवस्थापन संकाय अध्ययन गरेका तथा कम्प्युटरमा माईक्रोसफ्ट एक्सेल राम्रो चलाउन सक्नेहरु एकाउन्टेन तथा फाईनान्सका क्षेत्रमा काम गर्न सक्छन् । स–साना कम्पनीहरुले पनि एकाउन्टेनको काम सम्हाल्नेलाई ३ हजार ५ सय दिरामदेखि सोभन्दा माथि तलब सुविधा दिने गरेका छन् । पदोन्नतिसँगै तलव सुविधा बढ्दै जादा एकाउन्टिङ्गमा डिग्री हासिल गरेका दक्षहरुलाई कम्पनीहरुमा फाईनान्स एक्जुकेटिभ, फाईनान्स म्यानेजर हँुदै चिफ फाईनान्स अफिसर जस्ता ठूला पदहरुमा पुग्ने समेत अबसर हुन्छ । यसरी माथिल्लो पदमा काम गर्नेको मासिक तलब २० हजार दिरामदेखि ३० हजार तथा सो भन्दा माथि समेत हुने गरेको छ । 

नर्स तथा डाक्टर
नर्स तथा डाक्टर लगायत स्वास्थ्य सेवामा दक्षता हासिल गरेकाहरुको माग ठूलो छ युएईमा । निजी क्षेत्रमा स्वास्थ्य संस्थाको वृद्धिसँगै डाक्टर तथा नर्सको माग बढेको देखिन्छ । कुनै पनि क्षेत्रमा विशेषज्ञता हासिल गरेका डाक्टरहरुको त मासिक तलब मात्र ५० हजार दिराम भन्दा माथि हुने गरेको बताईन्छ । साथै उनीहरुले मासिक रुपमा कमिसन समेत पाउने गर्छन् । त्यसैगरी नर्सहरुले पनि सामान्यतया ५ देखि ७ हजारसम्म मासिक तलव सुविधा पाउँछन् । स्वास्थ्य सेवामा काम गर्ने सबैले यहाँको हेल्थ अथोरिटिबाट लिइने परीक्षामा सहभागी भई अनिवार्य लाईसेन्स लिनुपर्ने व्यवस्था छ । 

बैंकर्स 
बैँकर्स अर्को ठूलो तलबमान हुने पद हो दुवईको । सामान्य तथा आर्टिफिसियल ईन्टलिजेन्सको बढ्दो उपयोग सँगै यहाँका बैकहरुमा थोरै मात्र काउन्टरहरु हुन्छन् । एडमिनदेखि लिएर ऋण दिने साथै बैंकको हिसाबकिताब राख्न र व्यवस्थापनमा धेरैजसो बैंकर्सहरुको काम हुन्छ । धेरैजसो कारोबार मानवरहित हुने भएकाले पनि कमै जनशक्तिमा थुप्रै काम गर्छन यहाँका बैकहरुले । बैंकमा ऋण अफिसरदेखि लिएर चिफ बैंकर तथा शाखा अधिकृत जस्ता पदहरुमा धेरै आकर्षण देखिन्छ । जसको तलवमान तल्लो तहको ८ हजार दिरामदेखि लिएर ३० हजार दिरामसम्म हुने गर्छ ।

इञ्जिनियर 
विकास र भवन निर्माणसँगै यहाँ ईञ्जिनियरहरुको ठूलो माग छ । कुनै पनि ईञ्जिनियरिङ्गका क्षेत्रमा दक्षता हासिल गरेरकाहरुले यहाँ राम्रो कमाईका साथै भव्य जीवन यापन गर्न सक्छन् । सिभिल इञ्जिनियरदेखि मेकानिकल इञ्जिनियर, ईलेक्ट्रिकल ईञ्जिनियर,कम्प्युटर ईञ्जिनियरहरुको तलवमान यहाँ कम्पनी र अनुभव हेरेर सामान्यतया ५ हजार दिरामबाट ३० हजार दिरामसम्म हुने गर्छ । धेरैजसो निर्माणाधीन भवनहरु र मर्मतसम्भारका काममा उनस्हरुको काम हुन्छ भने पदोन्नति हुने मौका पनि धेरै नै हुन्छ । दक्षता भएको कारणले उनीहरुले मल्टिपल वर्कपर्मिट पनि पाउँछन् । यस्तो पर्मिट पाएका दक्ष कामदारलाई एउटा भन्दा बढी कम्पनीसँग अनुबन्धित भएर पार्टटाईम काम समेत गर्न कानुनले बाटो खोलिदिएको छ । फ्रेस ग्राजुएट गरेर काम सुरु गरेकाहरु पदोन्नति हुँदै ईञ्जिनियरिङ्ग म्यानेजर, सिनियर ईञ्जिनियर तथा चिफ ईञ्जिनियरजस्ता पदहरुका दाबेदार समेत हुन्छन् । 

आईटी प्रोफेसनल
सूचना प्रविधिको उच्चतम विकाससँगै कार्यालयहरु स्मार्ट हुँदै गइरहेका छन् । यस्तो हुँदा सूचना प्रविधिका काम जानेका दक्ष जनशक्तिको माग दिनहँु बढिरहेको छ । सामान्यतया कार्यालयको लगईन इररदेखि लिएर ठूला समस्याको हल गर्नुका साथै कार्यालयको डाटा सुरक्षित गर्नु र अन्य कामदारलाई प्रविधिको काममा सजिलो बनाउनु आईटि प्रोफेसनलहरुको जिम्मेवारी हो । आइटी असिस्टेन्टदेखि लिएर आईटि स्पेशलिस्ट, म्यानेजर, डाईरेक्टरदेखि लिएर, चिफ ईन्फरमेसन अफिसरसम्मका पदहरु आईटीसँग सम्बद्घ हुन्छन् । सूचना प्रविधि सम्बन्धी पढाई नगरेकाहरु पनि सामान्य आईटिको कोर्ष गरेर प्रवेश गर्न सकिने यो क्षेत्र स्मार्ट जीवनशैलि चाहाने सबैलाई अति नै उत्तम क्षेत्र हो । कतिपय अवस्थामा क्यारियर शुरु गरेपछि पनि आफूलाई आवश्यक पर्ने काममा कार्यालयको माग र आवश्यकता हेरेर तालिमहरु लिँदै काम सिक्दै समेत गर्न सकिन्छ । युएईमा थुप्रै नेपालीहरु आईटिका क्षेत्रमा ठूलो पदमा समेत काम गरिरहेका छन् । यो क्षेत्रमा काम गर्नेको मासिक तलव सुविधा न्यूनतम ५ हजारदेखि उपल्लो तहमा ३० हजार दिरामसम्म हुने गरेको पाईन्छ ।

सेल्सम्यान
सेल्सम्यान तथा वुमेनको काम आफ्नो कार्यक्षेत्रमा आउने ग्राहकलाई आफूसँग भएको अथवा आफूले बिक्री गर्ने उत्पादनको बारेमा बुझाएर आफ्नो सामान बढी भन्दा बढी गराउनु नै हुन्छ । सामान्यतया सेल्समेनको माग सुपरमार्केटहरुमा बढी हुने गर्छ । कतिपय कम्पनीहरुले सेल्सम्यानहरुलाई दैनिक टार्गेट दिने गर्छन्, जसमा उच्च बिक्री गर्न सक्नेहरुले त तलबभन्दा बाहेक कमिसन समेत पाउने गर्छन । सामान्यतया सेल्समेनहरुको तलव सुविधा मासिक २५ सय देखि ४ हजार दिराम सम्म हुनेगर्छ । सवारीचालक अनुमतिपत्र भएकाहरुलाई त भ्यानसेल्समेनको अवसर समेत हुन्छ, उनीहरु गाडीमा कम्पनीको सामान बोकेर दिनभर ठाउँ–ठाउँमा पुर्याउँदै बिक्रीवितरण गर्छन । भ्यान सेल्समेनहरुको तलव सुविधा ३५ सय दिरामदेखि ४५ सय दिरामसम्म हुने गर्छ । 

होटलियर
होटलिर भन्नाले होटलमा काम गर्ने कामदारलाई बुझिन्छ । होटलियर भित्र होटलमा काम गर्ने सबै पदहरु पर्छन् । हाम्रो देशमा भने होटलियर भन्नेबित्तिकै खाना बनाउने अथवा भाडा माझ्ने मात्रै बुझ्ने गरिन्छ, तर यो धेरै ठूलो र भव्य क्षेत्र हो । यहाँ काम गर्नेहरुलाई फरक–फरक डिपार्टमेन्टमा बाँडिएको हुन्छ । सरसफाईका लागि हाउसकिपिङ्ग डिपार्टमेन्ट, खाना पकाउने बनाउनेका लागि किचन तथा कुलिनरी डिपार्टमेन्ट, होटलमा आउने पाहुनाको दर्ता लगत राख्ने क्यास हेन्डल गर्ने फ्रन्ट अफिस डिपार्टमेन्ट, पाहुनाको लगेज ह्यान्डल गर्नेदेखि लिएर अन्य डिपार्टमेन्टसँग कोर्डिनेसन गर्ने कन्सर्न डिपार्टमेन्ट, होटलमा भएको रेस्टुरेन्टमा सर्भिस गर्ने क्यास हेन्डल गर्ने वेटर तथा क्यासियर जस्ता पदहरु र डिपार्टमेन्टहरु होटलमा छुट्टाईएको हुन्छ । फरक–फरक काम र पदअनुसार सबैको तलव सुविधा फरक–फरक हुन्छ । तल्लो तहमा काम गर्ने होटलियरको तलव सुविधा सामान्यतया १ हजार दिरामदेखि सुरु हुन्छ । होटलको प्रोफाईल र कामदारको अनुभवको आधारमा तलब फरक हुनसक्छ । यहाँ संचालनमा भएका ४ तारे तथा ५ तारे होटलमा काम गर्ने कामदारलाई होटलको व्यापारको आधारमा सर्भिस चार्ज समेत दिने व्यवस्था छ । त्यसभन्दा माथि प्राय सबै होटल कम्पनीहरुले कामदारलाई दिने खाना तथा बस्ने सुविधा अन्य कम्पनीभन्दा राम्रो मानिन्छ । होटल म्यानेजमेन्ट अध्ययन गरेकाहरुलाई होटलमा काम पाउन गाह्रो हँुदैन भने पढाई नहुनेलाई अंग्रेजी भाषामा दक्ष हुनुका साथै अनुभव र पाहुनालाई कजाउनसक्ने क्षमता हुन जरुरी हुन्छ । अनुभव र पढाई पनि राम्रो हुनेहरुलाई यो क्षेत्रको माथिल्लो पद जस्तै डिपार्टमेन्टमा सुपरभाईजर, म्यानेजर किचनमा सेफ डि पार्टि, सु सेफ तथा रेन्टुरेन्टहरुमा म्यानेजरसम्म बन्ने मौका हुन्छ । रेस्टुरेन्ट म्यानेजर, हाउस किपिङ्ग म्यानेजर जस्ता पदहरुको तलबमान १० हजार देखि २० हजारसम्म भएको पाईन्छ । 

ईलेक्ट्रिसियन/प्लम्बर / कार्पेन्टर/एसि टेक्निसियन
बिजुली सम्बन्धी मर्मत सम्भार गर्न ईलेक्ट्रिसियन, पानीधारा तथा पाईप सम्बन्धी काम गर्न प्लम्बर, काठ तथा फर्निचरको काम गर्न कार्पेन्टर तथा एसी मर्मत सम्भार गर्न एसी टेक्निसियनहरुको आवश्यकता पर्छ । आ–आफ्नो क्षेत्रमा सामान्य अनुभव भएकाहरु कम्पनी प्रवेश गर्नसक्ने र पछि अनुभव बनाएर राम्रो कम्पनी र उच्च तलवमा परिवर्तन गर्न सकिने हँुदा दक्ष कामदारले एकैठाउँमा हेपिएर बसिरहनु पर्दैन । यी पदहरुमा काम गर्नेको तलवमान १५ सय देखि लिएर २५ सय दिरामसम्म हुन्छ । 

सेक्युरिटी गार्ड 
सुरक्षाको काममा भूपू आर्मी, प्रहरी  तथा सिभिल सेक्युरिटीको माग उत्तिकै छ युएईमा । पछिल्लो समयमा युएईमा सेक्युरीटिका लागि राम्रो तलब सुविधाका साथै उच्चस्तरीय तालिम पनि दिइँदै आएको छ । अर्धदक्ष कामदारमा पर्ने सेक्युरिटीलाई यहाँको स्थानीय सरकारले अन्तर्राष्ट्रिय स्तरको तालिमसहित आपतकालिन अबस्थामा तुरुन्त ज्यान र धनको सुरक्षा गराउन के कस्तो उपाय अपनाउने भन्ने विषयमा दक्ष बनाइरहेको छ । सेक्युरिटी गार्डको काम गर्न न्यूनतम शैक्षिक योग्यता १० कक्षा उत्तिर्ण गरेको हुनुपर्छ भने २१ बर्षदेखि ५५ बर्षको उमेर समूहको स्वस्थ नागरिक हुनुपर्छ । दुवई बाहेकका ६ वटा ईमिरेट्समा सेक्युरिटी गार्डको बेसिक तलव २ हजार दिराम छ भने दुवईमा भने १२ सय दिराम तोकिएको छ । दैनिक १२ घण्टाका हिसाबले २६ दिन काम गर्ने कामदारले मासिक रुपमा दुवईमा २२ सय दिराम तथा अन्य ईमिरेट्समा २७ सय दिराम तलब पाउँछन् । 

क्लिनर
युएईमा थुप्रै जनशक्ति परिचानल गर्ने तथा ठेक्का लिने कम्पनीहरु छन्, जसलाई सप्लाई कम्पनी भन्ने गरिन्छ । धेरैजसो ठूला कम्पनीहरुले भिषा, कामदारको बिमा लगायतका काममा झण्झट नहोस् भनेर सरसफाई , सुरक्षा तथा मर्मत सम्भारको काम अन्य सप्लाई कम्पनीलाई ठेक्कामा दिने गरेका छन् । जसले गर्दा धेरैजसो सरसफाई क्लिनरको माग सप्लाई कम्पनीमा हुने गर्छ र उनीहरुले आफ्नो क्लाइन्टबाट मोटो रकम लिई कामदारलाई थोरै तलव सुविधामा काम गराउने गर्छन् । अदक्ष कामदारमा पर्ने भएको हँुदा क्लिनरमा काम गर्नेको तलवमान थोरै नै हुने गर्छ । कतिपय कम्पनीले त कामदारलाई झुक्याउन अफिस असिस्टेन, हेल्पर जस्ता पदहरु सिर्जना गरेर समेत कामदारहरु नियुक्त गर्ने गरेका छन् । यो पदमा काम गर्नेहरुको तलबमान ८ सय दिरामदेखि १२ सय दिरामसम्म हुने गर्छ । कतिपय कम्पनीहरुले ओभरटाईम काम दिन्छन् भने धेरै कम्पनीमा ८ घण्टामै चित्त बुझाउनुपर्ने अवस्था हुन्छ । ओभरटाइम दिनै पर्ने भन्ने बाध्यकारी व्यवस्था नभएको हँुदा धेरैजसो क्लिनरमा काम गर्ने कामदारको तलबमान थोरै नै हुने गरेको पाईन्छ ।