काठमाण्डौ । नेपाल खाद्य संस्थानले विभिन्न ५ पदका लागि ३१ फ्रेस कर्मचारी मागेको छ । 

सोमबार पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गर्दै संस्थानले सबै पदमा फ्रेस कर्मचारी मागेको हो । 

सातौ तहको वरिष्ठ अधिकृत(प्रशासन) पदमा खुल्लातर्फ २ र महिलातर्फ १ गरी ३ कर्मचारी मागिएको छ । यो पदमा मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक उत्तीर्णले आवेदन दिनसक्नेछन् । 

यसैगरी, प्रशासन समूहतर्फको छैठौं तहको अधिकृत पदमा दुई खुल्ला,  एक महिला र एक आदिवासी जनजाति गरी कुल ४ जना कर्मचारी मागिएको छ । यो पदमा समेत स्नातक उत्तीर्णले नै आवेदन दिनसक्नेछन् । 

यस्तै, पाँचौ तहको वरिष्ठ सहायक(प्रशासन) पदमा खुल्लातर्फ ४, महिलातर्फ १ र आदिवासी जनजातितर्फ १ गरी कुल ६ कर्मचारी मागिएको छ । यो पदमा प्रमाणपत्र  तह उत्तीर्णले आवेदन दिनसक्ने बताइएको छ । 

पाँचौ तहको मिल अपरेटर पदमा एकजना मागिएको छ । यो पदमा मेकानिकल इञ्जिनियरिंगमा प्रमाणपत्र तह उत्तीर्णले दरखास्त दिनसक्ने छन् । 

सबैभन्दा बढी चौथो तहको प्रशासन सहायक पदमा जनशक्ति मागिएको छ । यो पदका लागि १७ जना फ्रेस कर्मचारी मागिएको छ । ९ जना खुल्ला, ३ महिला, १ आदिवासी जनजाति, १  मधेशी, १ दलित, १ अपांग र १ पिछडिएको क्षेत्र गरी १७ जना मागिएको हो । एसएलसी उत्तीर्णले यो पदका लागि आवेदन दिनसक्ने बताइएको छ । 

सबै पदको लिखित परीक्षा लोकसेवा आयोगले लिनेछ । खाद्य संस्थानको प्रधान कार्यालय भद्रकाली प्लाजा काठमाण्डौबाट दरखास्त फारम लिन सकिने व्यवस्था मिलाइएको छ । सूचना प्रकाशित भएको ३५ दिनभित्र र दोब्बर दस्तुर तिरेर अर्को ७ दिनभित्रमा आवेदन बुझाइसक्नुपर्नेछ । 

चौथो, पाँचौ र छैठौं पदमा नियुक्त हुनेले कर्णाली अञ्चलका जाजरकोट, बाजुरा र गोरखा लगायतका  जिल्लामा काम गर्नुपर्ने शर्त राखिएको छ ।