काठमाण्डौ । उपभोग्य वस्तु बिक्री गर्नेहरुले न्यूनतम दैनिक उपभोग्य वस्तुहरु रहने गरी कम्बो प्याक बनाएर मात्र सामान बिक्री गर्न पाउने भएका छन् । 

आइतबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकमा गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरु, उपत्यकाभित्रका महानगरपालिका र नगरपालिकाका प्रमुख लगायतको सहभागिता थियो । 

लकडाउन अवधिमा खाद्य सामाग्री पाइने बिक्री केन्द्रहरुमा सर्वसाधारणको भीड कम हुन नसकेपछि यस्तो निर्णय गरिएको बताइएको छ । 

त्यस्ता स्टोरहरुले बिक्री गर्दा प्रत्येक व्यक्तिको दूरी एकमिटर कायम गर्नुपर्ने र त्यसको अवलोकन स्थानीय तहले गर्नुपर्ने समेत निर्णय गरिएको छ । आपूर्ति व्यवस्थापनको नेतृत्व सम्बन्धित स्थानीय तहले गर्नुपर्ने समेत बैठकमा निर्णय भएको छ । 

बैठकले स्थानीय निकायले आफ्ना क्षेत्रका अति विपन्न परिवारको लगत संकलन गर्न समेत निर्देशन दिएको छ । 

यसैबीच, बैठकले आफूखुशी सहायता बाँड्न वा सहायता संकलन गर्ने कार्यमा समेत रोक लगाउने निर्णय गरेको छ ।

अब उप्रान्त यदि कसैले कोरोना प्रभावितलाई सहायता दिन चाहे उनीहरुले स्थानीय निकायमा सम्पर्क गर्नुपर्नेछ । उनीहरुले उपलब्ध गराउने सहायता सामाग्रीको गुणस्तर स्थानीय निकायले बनाएको मापदण्ड अनुसार हुनुपर्ने निर्णय समेत गरिएको छ ।