काठमाण्डौ । इण्डियन आयल निगम(आइओसी)बाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ । 

शुक्रबार मध्यरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि भएको नेपाल आयल निगमका प्रवक्ता सीताराम पोखरेलले बताएका छन् । 

उनका अनुसार प्रति सिलिण्डर ग्यासको मूल्य अब १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । यसअघि ग्यास प्रति सिलिण्डर १ हजार ३ सय ५० मा उपलब्ध थियो । 

आयल निगमले विगत लामो समयदेखि नै प्रति ग्यास सिलिण्डरमा निगमलाई निकै ठूलो घाटा भइरहेको दाबी गर्दै आएको थियो । तर प्रचण्डले खाना पकाउने ग्यासको मूल्य तत्काल नबढाउन निर्देशन दिएका कारण लामो समयसम्म घाटा सहेरै ग्यास बिक्री गर्नुपरेको पोखरेलको दाबी छ । 

प्रति सिलिण्डरको मूल्य २५ रुपैयाँले बढाउँदा समेत ग्यासमा निगमलाई अझै २ सय ८८ रुपैयाँ घाटा नै रहेको दाबी गरिएको छ । 

यसैबीच, निगमका अनुसार पेट्रोल र डिजेलको मूल्य पनि यथावत राखिएको छ । निगमलाई डिजेलमा प्रति लिटर ४ रुपैयाँ ७ पैसा र पेट्रोलमा १ रुपैयाँ २३ पैसा घाटा रहेको पोखरेलले दाबी गरेका छन् ।