काठमाण्डौ । खानी खोला हाइड्रोपावर कम्पनी लिमीटेडले ९ करोड ३१ लाख मूल्यको शेयर आगामी जेठ १६ गतेबाट सर्वसाधारणका लागि निश्कासन(आइपीओ) गर्ने भएको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दर(फेस भ्यालू)का ९ लाख ३१ हजार ४ सय २९ कित्ता शेयर आइपीओ गर्न लागेको हो । 

प्रारम्भमा आइपीओका लागि आवेदन दिने समय जेठ १९ गतेसम्मका लागि तोकिएको छ । आवेदनका लागि अधिकतम मिति भने जेठ ३० सम्मलाई तोकिएको छ । 

इच्छुकहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

यो कम्पनीले कुल निश्कासन गर्न लागेको शेयरमध्ये १८ हजार ६ सय २९ कित्ता आफ्ना कर्मचारीका लागि छुट्याएको छ । यसैगरी, ४६ हजार ५ सय ७१ कित्ता विभिन्न ८ वटा सामूहिक लगानी कोष कम्पनीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि चाहि कुल ८ लाख ६६ हजार २ सय २९ कित्ता छुट्याइएको छ । 

खानीखोला जलविद्युत कम्पनीको आइपीओका लागि बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । 

कम्पनीको अधिकृत पूँजी ५९ करोड र जारी पूँजी ४६ करोड ५७     लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापँुजी चाहि १९ करोड ८० लाख रुपैयाँ रहेको छ । 

आइपीओ जारी भइसकेपछि कम्पनीमा प्रोमोटर, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणहरुको शेयर स्वामित्व क्रमशः ७०, १० र २० प्रतिशत हुनेछ । नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले खानी खोलाको आइपीओलाई ‘आइपीओ ग्रेड ४ प्लस’को ग्रेड प्रदान गरेको छ । 

कहाँ–कहाँबाट भर्ने ?
खानीखोला जलविद्युत कम्पनी लिमीटेडले जेठ १६ बाट निश्कासन गर्ने आइपीओको बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेकोले सिभिल बैंकका देशभरका विभिन्न शाखा तथा क्यापिटलको कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । कमलादीस्थित सिभिल क्यापिटल मार्केट, खानी खोला जलविद्युत कम्पनीको सम्पर्क कार्यालय धुम्बाराही पार्टी प्यालेस, धुम्बाराहीबाट समेत आवेदन दिन सकिनेछ । यसैगरी, सिभिल बैंकका शाखा कार्यालयहरु पोखरा, बुटवल, विर्तामोड, नेपालगञ्ज, हेटौंडा, इटहरी र धनगढीबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । 

यसैगरी, सर्लाहीको हरिवौनमा अवस्थित बागमति डेभलपमेन्ट बैंक लिमीटेडको कार्यालयबाट समेत आवेदन दिन सकिने बताइएको छ ।