काठमाण्डौ । भारतको मुजफ्फरपुरमा रहस्यमय ढंगले फैलिएको मस्तिष्क सम्बन्धी घातक रोगको कारण पत्ता लागेको वैज्ञानिकहरुले दाबी गरेका छन् । यो बिरामीका कारण सन् २०१४ सम्म प्रत्येक वर्ष १ सय मानिसको मृत्यु भएको थियो । अमेरिका तथा भारतका केही वैज्ञानिकहरुले गरेको एक शोधपछि यो घातक बिरामीको कारण लिची नामको फल रहेको रहस्य पत्ता लागेको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । वैज्ञानिकहरुको दाबी अनुसार खालि पेटमा लिच्ची खाएका कारण धेरैमा यो बिरामी फैलिएको थियो । स्मरण रहोस्, मुजफ्फरपुर लिची फल उत्पादन हुने भारतकै मुख्य गढ मानिन्छ । 

यो बिरामीको मौसमी प्रकोपले करिब २ दशकसम्म सिंगो मुजफ्फरपुरलाई सताएको थियो । यस्तै घटना पश्चिमबंगालको मालदा क्षेत्रमा समेत देखिएको थियो । खोजकर्ताहरुको भनाईमा साँझको खाना नखाँदा आइपोग्लाइसिमिया अथवा लो ब्लड सुुगरको समस्या हुन्छ । यस्तो समस्या त्यस्ता बच्चाहरुमा बढी हुन्छ जसको लिभर तथा मसल्समा ग्लाइकोजन ग्लुकोजको स्टोरेज निकै कम हुन्छ । यसबाट शरीरमा इनर्जी पैदा गर्ने फ्याटी एसिड्स र ग्लूूकोज बन्छ र यसको अक्सीकरण हुन्छ । लिचीमा प्राकृतिक रुपमै पाइने बिषाक्त पदार्थ(जसलाई हाइपोग्लीसिन ए hypoglycin A र methylenecyclopropylglycine भनिन्छ)ले शरीरमा फ्याटी एसिड मेटाबालिजम बन्ने प्रक्रियामा अवरोध पैदा गरिदिन्छ । यसको कारण ब्लड सुुगर लो लेभलमा जान्छ र यसले मस्तिष्कसम्बन्धी समस्या सुरु भई त्यसले मान्छेको मृत्यु हुन्छ । 

खोजकर्ताहरुको यो शोध द ल्यानसेट नामको जर्नलमा प्रकाशित छ । सन् २०१३ मा भारतको नेशनल सेन्टर अफ डिजिज कन्टोल र अमेरिकाको यूूएस सेन्टर अफ डिजिज कन्टोलले यो बिषयमा एकसाथ शोध सुरु गरेको थियो । 

भारतीय मिडियाहरुका अनुसार मुजफ्फरपुरको श्रीकृष्णा मेडिकल कलेज हस्पिटल तथा  कृष्णादेवी देवीप्रसाद केजरीवाल म्याटरनिटी हस्पिटलमा १५ बर्ष भन्दा कम उमेरका ३ सय ५० बच्चाहरुलाई मष्तिस्क सम्बन्धी समस्याका कारण भर्ना गरिएको थियो । यीमध्ये १ सय २२ बच्चाले ज्यान गुमाएका थिए । 

यसमध्ये २०४ बच्चामा ब्लडको ग्लूूकोज लेभल निकै कम थियो । यीमध्ये अधिकांश बच्चाले धेरै लिच्ची खाएका थिए र उनीहरुको आमाबुुबाले पनि आफ्ना बालबच्चाले लिच्चीको सिजनमा रातको समय खाना नै नखाने गरेका बताएका थिए । जुन जुन गाउँमा यो बिरामी तीव्र गतिमा फैलिएको थियो, त्यहाँका अभिभावकले शोधकर्ताहरुलाई भनेका थिए कि मेदेखि जुन महिनाको अन्तरालमा उनीहरुका बालबच्चा बगैंचामा जान्थे र दिनभरि लिच्ची खाँदै बस्थे । लिचीले अघाएपछि उनीहरु साँझ घर फर्किन्थे र खाना नखाई सुुत्थे ।