काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

कात्तिक १४ गते साँझ ५ बजे बसेको बैंक संचालक समितिको ३४९ औं बैठकले आर्थिक वर्षको २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । साथमा कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरणको समेत प्रस्ताव गरेको छ । 

दुवै प्रस्ताव बैंकको आगामी वार्षिक साधारणसभा र नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ । 

हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब १७ करोड खूद नाफा आर्जन गरेको थियो । बैंकको हाल चुक्तापूँजी साढे ६ अर्बको हाराहारीमा छ । 

हाल प्रस्तावित २५ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी ८ अर्ब १२ करोडको उचाईमा पुुग्नेछ । 

गत वर्ष यो बैंकले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।