काठमाण्डौ । ट्रम्प प्रशासनको तर्फबाट निकट भविष्यमै ‘एच वान बी भिजा’को बिषयमा कार्यकारी आदेश जारी गर्ने कुनै योजना नभएको एक अमेरिकी अधिकारीले दाबी गरेका छन् । 

डोनाल्ड ट्रम्पसँग निकट सम्बन्ध राख्ने तथा लोकप्रिय अमेरिकी दाताको रुपमा पहिचान बनाएका भारतीय मूलका शलभ कुमारले यस्तो दाबी गरेका अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । यदि शलभ कुमारको दाबी सही साबित भए एच वान बी भिजामा अमेरिका पुुगेका दक्ष कामदारहरुलाई ठूलो राहात मिल्नेछ । यसले भारतका हजारौं कामदारले घर फर्किनुपर्ने छैन भने नेपालका समेत सयौं त्यस्ता जनशक्तिले जागिरबाट हात धुनुपर्ने छैन । 

यसअघि एचवान बी भिजाको बिषयमा ट्रम्पले यही साताभित्र कार्यकारी आदेश जारी गर्ने खबर बाहिरिएको थियो । यो खबरले सनसनी मच्चाएपछि विशेष गरी भारतीय आइटी कम्पनीहरुको भोकनिद्रा हराएको थियो । 

रिपब्लिकन हिन्दू गठनबन्धनका शिकागोस्थित प्रमुख शलभ कुमारले पत्रकारहरुसँग भनेका छन्–‘अमेरिकामा अझै एच वान बी भिजा जारी गर्ने आवश्यकता छ । यो भिजामा जति पनि भारतीय जनशक्ति अमेरिकामा छन्, आगामी दिनमा त्यसमा बढोत्तरी हुनेछ । नेपाल लगायतका देशबाट आउने जनशक्ति पनि बढ्नेछन् ।’ 

पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा कुमारले यसअघि सार्वजनिक भएका मिडिया रिपोर्टहरुलाई उल्टो दाबी गर्दै एच वान बी भिजालाई लिएर ह्वाइट हाउसमा कुनै पनि कार्यकारी आदेशलाई पारित गर्ने कुनै तयारी नभएको बताएका छन् । उनका अनुसार अमेरिकाको अर्थतन्त्रको विकासमा आइटी क्षेत्रको भूमिका महत्वपूर्ण छ र रहनेछ । ‘मैले बुुझे अनुसार भविष्यमा आइटी क्षेत्रका लागि अमेरिकालाई थप जनशक्ति चाहिएको छ ।’–उनले थपे । उनका अनुसार अमेरिकामा अहिले आइटी प्रोफेसनलहरुको निकै कमी छ र त्यो कमीको पूर्ति भारत, नेपाल जस्ता देशले मात्र गर्नसक्छन् । अमेरिकाले पछिल्लो समय औसतमा वार्षिक एक हजार नेपाली दक्ष जनशक्तिलाई एच वान बी भिजा दिने गरेको छ । 

तर कुमारले ट्रम्प प्रशासनको तर्फबाट एच वान बी भिजाको चरम दुरुपयोग भने रोक्ने प्रयास हुने प्रष्ट्याएका छन् । उनले भनेका छन् कि ह्वाइट हाउसको तर्फबाट प्रत्येक देशको ग्रीन कार्ड कोटामा भने कटौति हुनसक्नेछ । एच वान बी भिजा सम्बन्धी नयाँ कानूनले अमेरिकामा आएर ग्रीन कार्ड पाउनका लागि ३५ वर्षसम्म कुनुपर्ने अवस्थाको अन्त हुने दबी समेत उनले गरेका छन्।

हालै सार्वजनिक मिडिया रिपोर्टमा दाबी गरिएको थियो कि ट्रम्प प्रशासनले एन वान बी भिजासम्बन्धी नियमलाई निकै कडा बनाउन गइरहेको छ । मुुख्य रुपमा भारत र नेपालका आइटी प्रोफेसनल यही भिजाको मद्धतले अमेरिकामा रहेर काम गरिरहेका छन् । 

पछिल्लो वर्षहरुमा हरेक वर्ष एक हजार बढी नेपालीले एच १ बी भिसा पाउँदै आएका छन् । अमेरिकी सरकारको आधिकारिक तथ्यांक अनुसार २०१० मा ९९१ नेपालीले यो भिसा पाएका थिए भने त्यसयता हरेक वर्ष १ हजार बढीले पाएका छन् । २०१५ मा मात्र १२४४ नेपालीे यो भिसामा अमेरिका गएका छन् । 

एच वान बी भिसामा अमेरिकामा कार्यरत भारतीय जनशक्तिको संख्या धेरै ठूलो छ । २०१५ मा अमेरिकामा ५ लाख ३७ हजार ४५० ले एच१ बी भिसा पाएका छन्, जसमध्ये २ लाख ५३ हजार ३३७ जना भारतीय छन् ।