काठमाण्डौ । लट्री अर्थात् चिठ्ठा । त्यो पनि १२ करोडको । अझ त्यो चिठ्ठा न्यून आय भएका मानिसलाई पर्यो भने के होला ? पक्कै पनि खुसीको माहौल बन्न सक्छ।

भारतको केरलस्थित कुन्नुर जिल्लाका सामान्य खेतमा मजदुरी गर्ने ५८ वर्षीय पेरुन्नन राजनको हिजोआज दैनिकी यस्तै भइरहेको छ। उनलाई भारु १२ करोड रुपैयाँको चिठ्ठा पर्यो। 

राजनको हातमा पैसा परिनसके पनि उनको चर्चा भने निकै चल्न थालेको छ। गाउँका मानिसदेखि मिडियासम्म उनलाई भेट्न आतुर देखिन्छन्। बीबीसी संवाददातासँग मोबाइल सम्पर्कमा राजनले हडबडाउँदै भने, ‘मैले अहिलेसम्म पैसा पाएको छैन, बैंकले पनि मलाई भनेको छैन कि पैसा कहिलेसम्म मेरो खातामा आउनेछ।’

यसबाट प्रस्ट हुन्छ कि राजनलाई आफ्ना खातामा कहिले पैसा आउँछ भन्ने पर्खाइमा छन्। राजनले केरल सरकारको लटरी स्किमअन्तर्गत क्रिसमस लट्री किनेका थिए। जसमा उनी भाग्यमानी ठहर भए र जिते भारु १२ करोड। त्यसो त ट्याक्स काटेर उनले भारु ७ करोड २० लाखमात्र प्राप्त गर्नेछ। 

लट्री विजेता राजनको पहिलो ध्यान आफूले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्ने रहेको छ। ‘मैले एउटा बैंकबाट ५ लाख रुपैयाँ लिएको छु, अर्को एउटा वित्तीय संस्थाबाट केही लोन लिएको छ’, उनले भने, ‘आजसम्म लोन तिरेको छैन, अब लट्रीको पैसा आउनासाथ तिर्छु।’

राजनले बैंक तथा वित्तीय संस्थाबाट लिएर ऋण तिरेपछि बचेको पैसा के गर्ने भनेर योजना बनाइसकेका भने छैनन्। 

राजनको स्थानीय कोअपरेटिभ बैंकमा खाता रहेछ। लट्रीको टिकट उनले सोही बैंकमा जम्मा गरेका थिए। बैंकले पनि राजनलाई लट्री परेको प्रमाणित गरिसकेको छ। 

त्यसो त राजन ठूलो रकम जित्ने उम्मिदमा हरेक दिन ५ वटा टिकट किन्थे। उनले यसअघि पनि तीनपटक भारु ५०० रुपैयाँ जितिसकेका छन्। 

राजन त्यहाँको एउटा आदिवासी इलाकामा बसोबास गर्छन्। उनी अरुको खेतमा काम गरेर दैनिक भारु ८०० रुपैयाँ कमाउँछन्। उनकी पत्नी रजनी अरुको घरमा काम गर्छिन्। 

राजन दम्पतीका तीन छोरा–छोरीमध्ये दुईजनाले स्नातकसम्मको पढाइ पूरा गरिसकेका छन्। ठूली छोरीको विवाह भइसकेको छ। कान्छी छोरी अहिले अक्षरा हाइस्कुलमा पढ्छिन्। छोरा हिजोआज बुवासँगै खेतमा काम गर्छिन्। – एजेन्सी