काठमाण्डौ । आवेदन दिएको करिब २ महिनापछि गणपति माइक्रो फाइनान्स वित्तीय संस्था लिमीटेडलाई धितोपत्र बोर्डले ३ करोड ३५ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्न अनुमति दिएको छ । 

यो कम्पनीले पुस २ गते धितोपत्र बोर्डमा प्रति शेयर रु.१०० अंकित दरको ३ लाख ३५ हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुका लागि निश्कासनको माग गर्दै आवेदन दिएको थियो । बोर्डले कम्पनीलाई चैत ७ गते(बिहीबार) आइपीओ निश्कासनको अनुमति दिएको हो ।

यो माइक्रोफाइनान्सको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ । 

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडको अधिकृतपूँजी रु.२० करोड, जारी पूँजी रु.१० करोड र चुक्तापूँजी रु.७ करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरेपश्चात संस्थाको चुक्तापूँजी रु.१० करोड माथि पुग्नेछ । 

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ आषाढ १३ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । 

२०७३ साल कार्तिक ३० गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । 

दुलेगौढा, तनहुँमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काभ्रे, सिन्धुली, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तुु र दाङ्गमा, गरी जम्मा २० वटा शाखा कार्यालय मार्फत् सेवा दिइरहेको छ ।

यो कम्पनीको आइपीओलाई केयर रेटिंग्स नेपाल लिमीटेडले केयर एनपी आइपीओ ग्रेड फोरको ग्रेडिङ प्रदान गरेको छ ।

यो ग्रेडिङले कम्पनीको आधारभूत अवस्था औसत भन्दा कमजोर छ भन्ने हो। 

केयर रेटिङ्स नेपालले आइपीओलाई ग्रेड १ देखि ५ सम्मको रेटिंग दिंदै आएको छ । सबैभन्दा बलियो आधार जनाउने आइपीओलाई ग्रेड १ र सबैभन्दा कमजोर कम्पनीको आइपीओलाई ग्रेड ५ को रेटिङ दिइने गरिन्छ।