काठमाण्डौ । गणपति माइक्रो फाइनान्स वित्तीय संस्था लिमीटेडको आइपीओमा दोश्रो दिनसम्म मागभन्दा १२.१७ गुणा बढी आवेदन परेको छ ।

यो माइक्रोफाइनान्सले आइपीओ निश्कासन गरेको दोश्रो दिन मंगलबार साँझ ५ बजेसम्म १ लाख ८८ हजार ८५६ आवेदकबाट ३८ लाख ११ हजार १५० कित्ताका लागि आवेदन दिएका हुन् । 

बैशाख ९ गते(सोमबार)बाट यो कम्पनीले निश्कासन गरेको आइपीओमा छिटोमा बैशाख १२ गते र ढिलोमा जेठ ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

इच्छुकले न्यूनतम १० देखि अधिकतम १५०० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । 

यो कम्पनीले प्रति शेयर रु. १०० अंकित दरको ३ लाख ३५ हजार कित्ता साधारण शेयर निश्कासन गरेको हो ।

कुल निश्कासन हुने कित्तामध्ये ५ हजार १७५ कम्पनीका कर्मचारीका लागि, १६ हजार ७५० म्युचुअल फण्डहरुका लागि र बाँकी रहने ३ लाख १३ हजार ७५ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।

यो माइक्रोफाइनान्सको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ । 

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडको अधिकृतपूँजी रु.२० करोड, जारी पूँजी रु.१० करोड र चुक्तापूँजी रु.७ करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरेपश्चात संस्थाको चुक्तापूँजी रु. १० करोड माथि पुग्नेछ । 

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ आषाढ १३ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । 

२०७३ साल कार्तिक ३० गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । 

तनहुँको दुलेगौढामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काभ्रे, सिन्धुली, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तुु र दाङ्गमा, गरी जम्मा २० वटा शाखा कार्यालय मार्फत् सेवा दिइरहेको छ ।

यो कम्पनीको आइपीओलाई केयर रेटिंग्स नेपाल लिमीटेडले केयर एनपी आइपीओ ग्रेड फोरको ग्रेडिङ प्रदान गरेको छ ।

यो ग्रेडिङले कम्पनीको आधारभूत अवस्था औसत भन्दा कमजोर छ भन्ने हो। 

केयर रेटिङ्स नेपालले आइपीओलाई ग्रेड १ देखि ५ सम्मको रेटिंग दिंदै आएको छ । सबैभन्दा बलियो आधार जनाउने आइपीओलाई ग्रेड १ र सबैभन्दा कमजोर कम्पनीको आइपीओलाई ग्रेड ५ को रेटिङ दिइने गरिन्छ।