काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले ‘हायर पर्चेज’ शीर्षकमा प्रवाह गरेको ऋणमा यो असार महिनाको ब्याज रकम राहातस्वरुप पूरै छुट दिने घोषणा गरेको छ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि घोषणा गरेको देशव्यापी लकडाउनका कारण यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रलाई अत्याधिक प्रभाव परेको भन्दै बैंकले यस्तो घोषणा गरेको हो। यस्तो अवस्थामा सुरक्षणको रुपमा सम्बन्धित सवारीसाधनसमेत धितो राखी यात्रूवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारीसाधन (बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत) खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जा उपभोग गरेका सेवाग्राही (ऋणी) लाई नेपाल राष्ट्र बैंकको २०७७ बैशाख १६ गतेको निर्देशनबमोजिमको वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले दिइएको छुट दिइएकोमा अब असार महिनाको व्याज रकम राहतस्वरुप पूरै छुट दिने निर्णय गरिएको बैंकले जनाएको छ। 

सम्बन्धित सम्पूर्ण सेवाग्राहीले असार मसान्तभित्र बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्ने बैंकले स्पष्ट पारेको छ। 

बैंकको यो निर्णयले हायर पर्चेज शीर्षकमा कर्जा सुविधा उपभोग गर्ने सम्पूर्ण सेवाग्राहीलाई थोरै भए पनि राहत महसुस हुने बैंकले विश्वास लिएको छ।