काठमाण्डौ । मेगा बैंकमा बिलय भएसँगै गण्डकी विकास बैंकका सीइओ रेशम थापाले आफ्नो २६ वर्ष लामो बैंकिङ करिअरलाई विश्राम दिएको घोषणा गरेका छन् । 

मेगा बैंकले गण्डकी विकास बैंकलाई बराबरी सेयर स्वापमा गाभेर एकीकृत कारोबार सुरु भएको दिन आइतबारदेखि नै उनले आफ्नो २६ वर्षे लामो बैंकिङ करिअरलाई विश्राम दिएको घोषणा गरेका हुन् ।

'अन्नपूर्ण फाइनान्स लिमिटेड (हाल प्राइम कमर्शियल बैंक)बाट सुरुवात गरेको बैंकिङ यात्रा १६ बर्षसम्म प्रमुख कार्यकारी अधिकृत र बाँकी अवधि कार्यकारी तहमा रहेर काम गर्न अवसर प्रदान गर्ने अन्नपूर्ण फाइनान्स लिमिटेड, फेवा फाइनान्स लिमिटेड, ओम फाइनान्स लिमिटेड, फेवा विकास बैंक लिमिटेड हुँदै गण्डकी विकास बैंक लिमिटेडलाई स्मरण गर्दै आभार व्यक्त गर्दछु ।' सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै बैंकर थापाले भनेका छन्-'आफू संलग्न रहेको संस्थामा औषत पनि १६ प्रतिशतभन्दा बढी प्रतिफल प्रदान गर्न सफल रहेको इतिहासले भविष्यमा स्वयम् आफूलाई, बैंकिङ क्षेत्रमा चासो राख्ने बुद्धिजिवीलाई तथा आफ्ना शुभचिन्तकलाई सन्तोष प्रदान गर्नेछ भन्नेमा विश्वस्त छु । आफ्नो बैंकिङ करियरमा सफल बनाउनका लागि सहयोग पुर्याउने गण्डकी विकास बैंकको पछिल्लो सञ्चालक समिति, हालका एवम् पूर्व कर्मचारी साथीहरु, नियामक निकाय, शेयरधनी महानुभावहरू, ग्राहक महानुभावहरु सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु ।' 

उनले आफ्नो व्यक्तिगत कारणले मेगा बैंक नेपाल लिमीटेडमा गण्डकी विकास बैंक बिलय भएपछि काम गर्न असमर्थ रहेको समेत दाबी गरेका छन् । तर, उनले आगामी दिनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बैंकिंग क्षेत्रमै समर्पित हुने समेत घोषणा गरेका छन् । 

'यात्राका क्रममा पटकपटक पाएको उत्साहजनक वित्तीय उपलब्धी, बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी, बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक जस्ता अवार्डले आफूलाई हौसला प्रदान गर्नुको साथै पोखराका तीनवटा सफल संस्थाहरुको मर्जरको क्रममा पनि प्रमुख कार्यकारी अधिकृत तथा हाल मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्दा समेत कार्यकारी तहमा नै अवसर प्राप्त हुनुले आफूप्रति सरोकारवालाको विश्वास रहेको प्रमाणित भएको महशुस गरेको छु ।'- थापाले थपेका छन् ।