काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा आह्वान गर्ने पहिलो बिमा कम्पनी बनेको छ । 

यो कम्पनीको बैशाख १२ गते बसेको संचालक समितिको बैंठकले १९ औं वार्षिक साधारणसभा जेठ ४ गते शनिवारको दिन पर्साको वीरगञ्जस्थित होटल दियालो लर्डस प्लाजामा आह्वान गरेको हो । 

साधारणसभाले संचालक समितिले गरेको प्रस्ताव अनुसार प्रतिसेयर २३.५० रुपैयाँले हुन आउने कुल  १ अर्ब ३ करोड ३२ लाख ५६ हजार २४८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न स्वीकृति गर्नेछ । 

यस्तै, संचालक समितिले प्रस्ताव गरेअनुसार विद्यमान चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव समेत पारित गर्ने कार्यक्रम छ । 
हाल यो कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोड छ । बोनस सेयरपछि बढेर ५ अर्ब ५० करोडको उचाईमा पुग्नेछ । 

कम्पनीको अधिकृत पूँजीलाई बढाएर १० अर्ब कायम गर्ने, संचालक समितिमा संस्थापक समूहबाट रिक्त संचालक पदको बाँकी कार्यकालका लागि गरिएको नियुक्ति अनुमोदन गर्ने, संचालकको बैठकभत्ता, दैनिक भ्रमण भत्ता, तथा सुविधा बारेको प्रावधान नियमावलीमा समाहित गर्ने प्रस्ताव समेत साधारणसभामा पेश गर्ने कार्यक्रम छ।

लेखा परीक्षकको प्रतिवेदन सहितको २०७५ साल असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७४/७५ को आयव्यय हिसाब, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने लगायतका प्रस्ताव समेत साधारणसभामा पेश हुनेछ ।