काठमाण्डौ । नेपाल पूँजीबजार लगानीकर्ता संघले आगामी मौद्रिक नीतिमा पूँजीबजार सुधारका लागि आवश्यक सुझावहरु लिखित रुपमै गभर्नरलाई बुझाएको छ। 

नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाललाई संघकी अध्यक्ष राधा पोखरेलले आज भेट गरी बजार सुधारका लागि आवश्यक बुँदाहरु समेटिएको लिखित सुझाव पेश गरेकी हुन् । 

अघिल्लो मौद्रिक नीतिले बजारको विकासका लागि अपेक्षाकृत सम्बोधन गर्न नसकेको उल्लेख गर्दै यसपटकको नीतिले बजारका लागि झारा टार्ने अवस्था मात्र नरहोस् भन्ने उद्देश्यले सुझाव पेश गरिएको पोखरेलको भनाई छ । 

मौद्रिक नीतिका कारणले तत्काल बजार बढ्छ र घट्छ भन्ने सोच राख्नुभन्दा दीर्घकालीन रूपमा त्यसको प्रभाव समग्र बजार विकास र विस्तारमा कस्तो पर्छ भनेर हेरिनुपर्ने उल्लेख गर्दै पोखरेलले  
सेयर लोनमा लगाइएकोको चर्को बैंक ब्याज घटाइदिन, सेयर धितो कर्जाको सिमा ६५ प्रतिशतबाट ८० प्रतिशत पुर्याउनुपर्ने लगायतका माग राख्दै सुझाव पेश गरेकी हुन् । 

बजेट मार्फत गैरआवासिय नेपाली संघलाई नेपालमा पूँजी बजारमा लगानी  गर्ने दायरा फराकिलो बनाइने भनिएकोमा यसको कार्यान्वयन यथाशीघ्र हुनुपर्ने, सेयर बजारमा महिला सहभागिता बढाउन घर जग्गा कारोबारमा जसरी छुट दिने व्यबस्था गरिएको छ त्यसै गरि सेयर कारोबारमा पनि महिलालाई छुट दिने व्यबस्था हुनुपर्ने,  पूँजीबजारमा अधिक सप्लाई सोस्ने संयन्त्रको रुपमा ठूला कोषहरुलाई बजार निर्माताको रुपमा भित्र्याउने व्यबस्था हुनुपर्ने लगायतका माग संघले राखेको छ । 

संघले बैंकहरूले लगानीयोग्य पूँजीको कृत्रिम भुत देखाइ बेलाबेलामा सेयर बजारमा चलखेल गर्ने गरेका आरोप लगाउँदै तरलताको कारण बजारमा नकारात्मक असर परेको र बैंकहरुको सीसीडी रेसियो केही समयलाई भने पनि ८५ प्रतिशत पुर्याइनुपर्ने माग समेत गरिएको छ ।